मापसे कक्षामा प्रहरी महानिरीक्षक अर्याल स्वयं सहभागी • Image Khabar Image Khabar


मापसे कक्षामा प्रहरी महानिरीक्षक अर्याल स्वयं सहभागी


Imagekhabar
२६ श्रावण २०७३, बुधबार १३:२९

मापसे कक्षामा प्रहरी महानिरीक्षक अर्याल स्वयं सहभागी

काठमाडौं, साउन २६ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको परिसरमा रहेको टेन्टमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकको सचेतना कक्षा चलिरहेको थियो ।

मापसे गरी सवारी चलाउँदा बढ्ने जोखिमबारे ब्रिफिङ हुँदै गर्दा साढे २ बजेतिर एक व्यक्ति टेन्टभित्र छिरे । अनी सोही कक्षामा सहभागी भए ।

ती मापसे गरी सवारी चलाएर नियम उल्लंघनकर्ता चालक भने थिएनन् । ट्राफिक महाशाखाको गतिविधिको छड्के निगरानीका लागि आएका प्रहरी महानिरीक्षक (आइजीपी) उपेन्द्रकान्त अर्याल थिए ।

मापसे कक्षामा आइजीपी आएको चाल पाएपछि सहभागी उनीतिरै सोझिए । आइजीपी कक्षामा सहभागीको गुनासो सुन्ने मुडमा देखिएपछि उनीहरुले ‘अलिकति खाँदा पनि हामीलाई यस्तो दुःख दिने, अलिकति त खान पाउनु पर्‍यो नि’ भन्दै र्‍याखर्‍याख पार्न थालिहाले ।

मुस्कानसहितको सेवा भने पनि ट्राफिकबाट त्यसअनुसारको व्यवहार नपाएको गुनासो गर्दै अधिकांश सहभागीले ‘मापसे गर्नु नै अपराधजस्तै व्यवहार हुने गरेको छ’ भन्दै अर्यालको ध्यानाकर्षण गराएका थिए ।

सेवाग्राहीको गुनासो सुनेपछि आइजीपी अर्यालले महाशाखा प्रमुख डिआइजी प्रकाश अर्याललगायतलाई चेकिङका नाममा ट्राफिकले हैरानी दिएको र व्यवहार राम्रो नभएको गुनासो बढी आएको भन्दै सुधार्न निर्देशन दिएका थिए । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्