काठमाडौं, साउन २८ । राजा त्रिभुवनका निजीसचिव स्वर्गीय दयारामभक्त माथेमाको संस्मराणात्मक पुस्तक ‘अनुभव र अनुभूति’को शुक्रबार राजधानीमा लोकार्पण गरिएको छ ।
दया फाउन्डेसनले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर राणा र वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले पुस्तकको विमोचन गरेका हुन् ।
स्वर्गीय माथेमाको पान्डुलिपिलाई दया फाउन्डेसनले प्रकाशन गरेको हो । कार्यक्रममा पूर्वगभर्नर राणाले माथेमाको यो कृति विशेष गरी इतिहास र राजनीतिका अनुसन्धनकर्ताहरुलाई उपयोगी हुने बताए ।
वि.सं. १९८३ सालमा काठमाडौंको ओमबहालमा जन्मिएका माथेमाले करिब २० वर्ष दरबारको सेवा गरेका थिए ।
राणा शासनविरुद्धको आन्दोलनकाक्रममा भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउस पुगेका राजा त्रिभुवनको प्रमुख सहयोगी एवं सल्लाहकारकारुपमा २००७ सालमा दिल्ली सम्झौताका लागि महत्वपूर्ण भूमिका खेलेका माथेमा राजा महेन्द्रको कार्यकालको पूर्वाद्र्धसम्म राजदरबारमा कार्यरत् थिए ।
त्रिभुवन विश्वविद्यालयको स्थापनामासमेत उनको महत्वपूर्ण योगदान रहेको थियो ।
पुस्तकमा माथेमाको जीवनका प्रारम्भिक दिनका साथै नारायणहिटी राजदरबार सेवाको अवधि, प्रजातान्त्रिक आन्दोलनमा राजा त्रिभुवनलाई दिएको साथ, प्रजातान्त्रिक अभ्यासको प्रारम्भिक दिनको अवस्थालगायतका अनुभवनहरु समेटिएका छन् ।
दरबारको सेवाबाट अवकाश लिएपछि माथेमाले काठमाडौंमा पहिलोपटक सिनेमा हल सन्चालनसमेत गरेका थिए ।
कार्यक्रममा स्वर्गीय माथेमाले हस्तकला उद्योगको स्थापना, घरजग्गाको कारोबार र अन्तर्राष्ट्रियस्तरको बैंक स्थापनामा पनि योगदान पुर्याएको चर्चा गरियो ।
प्रतिक्रिया दिनुहोस्