२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भोटेकोसी कटानले होटलसहित थप तीन घर बगायो


0
Shares

                                                                   फाइल फोटो

चौतारा, साउन २८ । भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी गाविसमा शुक्रबार होटलसहित थप तीन घर बगाएको छ ।

तातोपानी गाविसअन्तर्गत् कोदारीमा रहेको इको होटल र सँगै रहेका दुई घरसहित तीनओटा पक्की घर शुक्रबार बगाएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिए ।

उनकाअनुसार केही दिनयता वर्षा नभएपनि नदी कटानले त्यहाँस्थित १४/१५ घर अझै उच्चजोखिममा छन् ।

बाढीले करिब डेढ महिनाको अवधिमा एक विद्यालय, एक होटल र टहरासमेत तातोपानी र बाह्रबिसेमा १०० घर–टहरा बगाइसकेको छ ।

त्यसैगरी, एक बेलिवृज, एक झोलुंगेपुल तथा चार सवारी–साधन बगाइसकेको प्रहरीले जनाएको छ ।

बाढीले बाह्रबिसेदेखि लिपिङसम्मको २६ किलोमिटर सडकको विभिन्न स्थानमा आएको पहिरो र नदी कटानले ठाउँठाउँमा सडक बगाएपछि यातायात प्रायः ठप्प छ ।

डिभिजन सडक कार्यालय चरिकोटले सडक खुलाउने प्रयास गरिरहेपनि सफलता हासिल हुन सकेको छैन ।

दिनभर पहिरो पन्छाउँदै गएपनि राति पहिरो आउन नरोकिएको र डाइभर्सन गरी बनाएको सडकलाइ पुनः कटान गरेपछि विभिन्न स्थानमा जोखिमपूर्ण यात्रा गर्नुपरेको तातोपानी गाविसका सचिव डम्बरबहादुर श्रेष्ठले बताए । रासस