१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


उपप्रधानमन्त्री महराले चिनियाँ प्रधानमन्त्रीसँग आधाघन्टा के गरे कुरा ?


0
Shares

काठमाडौं, भदौ १ । चीन भ्रमणमा रहेका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली खछयाङसित बेइजिङमा बुधबार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारुपमा चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री महरा र प्रधानमन्त्री लीकाबीचमा आधाघन्टा कुराकानी भएको उपप्रधानमन्त्री महराका सन्चार सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री लीको शीघ्र नेपाल भ्रमणका विषयमा उनीहरुबीचमा कुराकानी भएको थियो ।

सो अवसरमा चिनियाँ प्रधानमन्त्री लीले राष्ट्रपति र आफू नेपाल भ्रमण गर्न सकारात्मक भएको उपप्रधानमन्त्री महरालाई जानकारी गराएका थिए ।

ती उच्चस्तरीय भ्रमणका लागि दुबै देशका परराष्ट्र मन्त्रालय तदारुकताकासाथ आवश्यक तयारी गर्नेबारे पनि उनीहरुकाबीच कुराकानी भएको थियो ।

उपप्रधानमन्त्री महरा र प्रधानमन्त्री लीकाबीचमा आपसी हित, द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो ।

त्यसैगरी, भेटवार्तामा दुई देशको भ्रमणका विषयमा उपप्रधानमन्त्री महराले प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश चीनका प्रधानमन्त्रीलाई सुनाएका थिए ।

चिनियाँ प्रधानमन्त्री लीले दुई देशबीचको सम्बन्धलाई थप मजबुद् बनाएर लैजाने चीनको चाहना रहेको उपप्रधानमन्त्री महरालाई अवगत् गराएका थिए ।

यसैगरी, उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ विदेशमन्त्री वाङ यीसँग मंगलबार भेटवार्ता गरेका थिए ।

सो भेटमा उपप्रधानमन्त्री महराले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट समकक्षी ली खछयाङलाई नेपाल भ्रमणको निमन्त्रणापत्र दिएका थिए ।

प्रधानमन्त्री दाहालको विशेष दूतकारुपमा उपप्रधानमन्त्री महरा सोमबार चीन प्रस्थान गरेका थिए । रासस