१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


शक्ति केन्द्रको प्रलोभनका कारण नयाँ सत्ता गठबन्धन : एमाले


0
Shares

                                                                    फाइल फोटो

काठमाडौं, भदौ ३ । नेकपा एमाले स्थायी कमिटीको शुक्रबारको बैठकमा केही नेताले विभिन्न शक्तिको प्रलोभनका कारण नयाँ सत्ता गठबन्धन बनेको बताएका छन् ।

यही आइतबारदेखि जारी एमाले बैठकमा शुक्रबार आफ्नो नेतृत्वमा गठित सरकार र त्यसले गरेका काम, अघिल्लो राजनीतिक समीकरणमा परिवर्तन र नयाँ समीकरण निर्माण, पार्टीको आन्तरिक क्रियाकलाप र आगामी कार्यभारलगायतका विषयमा समीक्षात्मक धारणा राख्नेक्रममा सो कुरा बताइएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा एमालेले दीर्घकालसम्म सो गठबन्धन कायम राख्न चाहेपनि शक्ति केन्द्रको प्रलोभनका कारण नेकपा माओवादी केन्द्रलाई नयाँ ठाउँमा पुर्‍याएकाले नै समीकरण बदलिएको धारणा राखिएको छ ।

बैठकमा शुक्रबार नेता विष्णु पौडेल, सुवास नेम्वाङ र छविलाल विश्वकर्माले आ–आफ्नो धारणा राखेको पार्टीका सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

संविधान निर्माणमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको, पार्टी नेतृत्वको सरकारले जनता र राष्ट्रका पक्षमा सकारात्मक काम गरेको, नेपालको परराष्ट्र सम्बन्धलाई सन्तुलितरुपमा परिचालन गरेको, राष्ट्रको आर्थिक समृद्धिका पक्षमा जनतामा आत्मविश्वास बढाएकोलगायतका उपलब्धि हासिल भएको वक्ताले जनाएका थिए ।

सामान्य कमी–कमजोरीलाई पार्टीले आगामी दिनका लागि शिक्षाकारुपमा ग्रहण गर्दै पार्टीलाई वैचारिक, राजनीतिक तथा संगठनात्मक क्षेत्रबाट एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने अभियानमा पार्टीलाई परिचालन गर्नुपर्ने बैठकले जोड दिएको छ ।

स्थायी समितिको बैठक यही भदौ ५ गते पुनःबस्नेछ । रासस

विज्ञप्ति पढ्नुहोस्