प्रधानमन्त्रीलाई नौ वर्षदेखि साउदीको जेलमा रहेका एक नेपालीको खुलापत्र • Image Khabar Image Khabar


प्रधानमन्त्रीलाई नौ वर्षदेखि साउदीको जेलमा रहेका एक नेपालीको खुलापत्र


Imagekhabar
९ भाद्र २०७३, बिहीबार १४:१८

प्रधानमन्त्रीलाई नौ वर्षदेखि साउदीको जेलमा रहेका एक नेपालीको खुलापत्र

काठमाडौं, भदौ ९ । कमाउनका लागि साउदी अरब पुगेका रोल्पा, थबाङका एक युवा नौ वर्षदेखि जेल जीवन बिताइरहेका छन् ।

थबाङ–४ जुरबाङका पञ्चबहादुर रोका मगर हत्या आरोपमा जेल परेका हुन् ।

नौ वर्षसम्म पनि उनीमाथि लागेको आरोपको फैसला नभएपछि उनी पुर्पक्षका लागि जेलमा छन् । उनले फेसबुकमार्फत नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालका नाममा खुलापत्र लेखेपछि उनको अवस्था सार्वजनिक भएको हो ।

यस्तो छ, प्रधानमन्त्रीलाई उनले लेखेको खुलापत्र
सम्माननीय प्रधानमन्त्री ज्यू,
साउदी अरेबिया जेलको कालकोठरीबाट नमस्कार
कालकोठरी साउदीको हायल जेलबाट विशेष लेख्नु त केही पनि थिएन तर अन्तिम आशमा आँसुले सानो पत्र कोर्दैछु । हुन त हजुर सामू यो दुःखीको पत्र नपुग्न सक्छ तर म यही जेलमा सडेर गए पनि जिउनेहरुले पक्कै पनि पढ्ने छन् ।
म गरिबको पीडा न घर नत घडेरी नै, त्यस्तै महान सपना बोकेर पैसा कमाएर आफ्नो भविष्य सुधार्ने सपना बोकेर करिब १८ वर्ष पहिले म खाडी मुलुकको साउदी अरब आएको थिएँ । न हातमा कुनै सीप, कुनै घर न घडेरीको मान्छे, त्यसैले म साउदी पुगेसँगै एउटा साउदी नागरिकको मझरा (भेडा हेर्ने काम) पाएको थिएँ । मालिकको विश्वास कै कारण ९ वर्षसम्म एउटै मालिकसँग काम पनि गरेँ । मेरा साना सपना पनि पुरा भएका थिए । ९ वर्षसम्म एउटै मालिससँग काम गर्दा मालिकको ममाथिको विश्वास सँगै म २ पटकसम्म छुट्टी लिएर घर पुगेर घर व्यवस्था मिलाएर पुनः धन कमाउन पुगेको थिएँ ।
त्यतिबेलासम्म म गरिबको घर जेनतेन आत्मनिर्भर बनाइसकेको थिएँ ।
मेरो साहुको ग्यारेजमा का मगर्ने ३ जना भारतीय थिए । एउटै साहुसँग काम गर्ने भए पनि म भेडा चराउथेँ, तिनीहरु ग्यारेजमा काम गर्थे ।
ती भारतीय नागरिक सँग पनि कहिलेकाहीँ सँगसँगै काम गर्थ्यौं । कामका बारेमा अलिअलि विवाद पनि हुने गर्थ्यो । उनीहरु काम गर्ने भनेर गए पनि दिनभर सुतिरहन्थे । म केही भन्दैनथेँ । अनि साहु गएर तिमीहरु तीन जना किन काम गर्दैनौं भनेर मलाई कराउँथ्यो । म अझै शान्त भएर बस्थेँ । त्यस्तै गर्दा गर्दै साहुले काम नगरेको भनेर मेरो २ महिनाको तलव समेत काटिदियो । म गरिबको पसिना बगाएको रकम मैले पाएन, उनीहरुका कारणले ।
त्यही विषयमा झगडा भयो र मलाई कुटे । तर मैले केही गर्न सकिनँ । यहाँको कानुन उल्टो छ । म कमाउन आएको । घरमा फुलजस्ता फुलजस्ता छोराछोरी र स्वास्नी छन् भन्ने सोचेँ । मलाई अति नै कुटे र खुट्टामा हानेर ठूलो घाउ समेत भइसकेको थियो । अनि मैले सहन सकिनँ । मन मुटु एकै भयो । रीस थाम्न सकिनँ । धेरै सोचेँ तर भएन । अन्तिममा एक भारतीयको मृत्यु भएछ । त्यो समय आउला भन्ने सोचेको पनि थिएन । त्यही केसमा मलाई जेल हालियो ।
तर मलाई जेल हालिसकेपछि मृतकका आफन्त आएर मुद्दा दर्ता गरेनन् । अनि म गरिबका सपना जेलमा सडिरहे ।
अहिले ९ वर्ष पुग्दा समेत मृतकका आफन्तको अनुपस्थिति भएपछि म एउटा नेपाली कुनै टुंगोबिनाको जेल जीवन बिताइरहेको छु । नत कुनै संघसंस्था साृेधपुछ गर्न आउँछ न दुतावास नै । हुन त म एउटा गाउृँको कुनाको मान्छे भएर होला कसैले चिन्दैन । तर सम्माननीय प्रधानमन्त्री ज्यूले चिन्नुहुन्छ थबाङ । मलाई आशा पलाएर आएको छ ।
म ससाना कोपिला छोराछोरी, घर परिवार छोडेर विदेशी भूमिमा अल्पायुमै फाँसी चढ्नुपर्ने कुन कर्म लिएछु होला । अन्ततः हजुरले पक्कै पनि पुनः जीवन दिनुहुनेछ ।
उही अभागी
पञ्चबहादुर रोका मगर
सेन्टर जेल साउदी अरब

-अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्