Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


क्रिकेटका नाममा मानव तस्करी हुने गरेको आशंका


0
Shares

काठमाडौं, भदौ १० । जापानमा हालै सम्पन्न एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन गएको टोलीमा केही गैर खेलाडीलाई समेत सहभागी गराइएको र उनीहरूलाई जापानमै छाडेर आएको आशंकामा छानबिन अघि बढाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाली क्रिकेटका सरोकारवालालाई निर्देशन दिएको छ ।

यस विषयमा युवा तथा खेलकुदमन्त्रीले समेत विशेष चासो देखाउँदै आन्तरिक छानबिन प्रक्रिया अघि बढाएका छन् ।

गत १५ जुलाईमा नेपालको बेस्ट फुटबल क्रिकेट (एफसी) काठमाडौं क्लबले सातजना राष्ट्रिय खेलाडीसहित १८ सदस्यीय टोली जापान लिएर गएको थियो । जापानमा उनीहरूले स्थानीय क्लबसँग दुई दिनमा तीनवटा मैत्रीपूर्ण खेल खेलेका थिए। उक्त मैत्रीपूर्ण खेलका लागि सिनियर नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य सिद्धान्त लोहनीसहित यु–१९ टोलीका प्रेम तामाङ, अमित श्रेष्ठ, सौरभ खनाल, फैजल खान, रामनरेश गिरी र राष्ट्रिय खेलाडी सोनु तामाङ जापान गएका थिए ।

मैत्रीपूर्ण खेलका लागि जापान गएकामध्ये सातै जना खेलाडी र अन्य दुई पदाधिकारी पाँच दिनको बसाइपछि नेपाल फर्किएका थिए । टोलीसँगै जापान गएका अन्य नौ सदस्य भने आफूसँग नेपाल नफर्किएको एक खेलाडीले बताए ।

खेलाडी भन्दै टोलीसँग गएका नौ जनालाई आफूहरुले नचिनेको ती खेलाडीले बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट