
काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोरले भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ ।
गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ८ विकेटले हराउँदै बैंगलोरले जारी सिजनमा सात खेलपछि पहिलो जित निकालेको हो ।
चन्डीगढस्थित पन्जाब क्रिकेट मैदानमा घरेलु टोलीले दिएको १ सय ७४ रनको लक्ष्य बैंग्लोरले १९ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो ।
उसका लागि कप्तान विराट कोहलीले ६७ रन जोड्दा एबी डी भिलायर्सले अविजित ५९ रन बनाए ।
आईपीएल क्रिकेटअन्तर्गत हिजै भएको अर्को खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डीयन्सलाई ४ विकेटले हरायो ।
मुम्बईस्थित वाङ्खड़े क्रिकेट रंगशालामा मुम्बईले दिएको १ सय ८८ रनको लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
राजस्थानको जितमा जोस बट्लरले ८९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अजिंका रहानेले ३७ तथा संजु सामसनले ३१ रन बनाए ।
मुम्बईका हार्दिक पाण्डेयले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । उसका लागि क्विन्टन डी ककले ८१ रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान रोहित शर्माले ४७ रन जोड्दा हार्दिक पाण्डेयले अविजित २८ रन बनाए । बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए ।
जितसंगै राजस्थानले ७ खेलबाट ४ अंक जोडेको छ । राजस्थान लिगमा पुछारबाट दोस्रो स्थानमा छ । मुम्बई ७ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्