विशिष्टलाई स्वदेशी उपचार चल्दैन • Image Khabar Image Khabar


विशिष्टलाई स्वदेशी उपचार चल्दैन


Imagekhabar
११ भाद्र २०७३, शनिबार १३:४९

विशिष्टलाई स्वदेशी उपचार चल्दैन

काठमाडौं, भदौ ११ । विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परिक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले कबिर दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट क्याबिन मर्मतसम्भार गर्यो ।

विशिष्ट व्यक्ति पद र सरकारी कोषको दुरुपयोग गरेर साधारण र सामान्य उपचारका लागि पनि विदेश गएको भन्दै सर्वसाधरण र संचार माध्यमले आलोचना गरेपछि अस्पतालका विशिष्ट कक्ष मर्मतसम्भार गरिएको थियो ।

अस्पतालले आफ्ना अति विशिष्ट क्याबिन मर्मतसम्भार त गरयो। तर मर्मतसम्भार गरेपछि एक जना पनि विशिष्ट व्यक्ति उपचारका लागि दुई वर्षयता वीर अस्पताल पुगेका छैनन् ।

विगतमा राजपरिवारका सदस्यहरुले समेत प्रयोग गरिएका आधुनिक र उच्च प्रविधियुक्त बिलासी क्याबिनहरु दुई वर्षदेखि बन्द छन् । दुई बर्षदेखि प्रयोगविहीन छन्, तिनमा माकुराको जालो र धुलो थुप्रिएको छ ।

यसैगरी शिक्षण अस्पतालले सरकारको अनुरोधमा विशिष्ट व्यक्तिहरुकै उपचारका लागि भनेर डिलक्स क्याविन बनायो । तर कुनै पनि विशिष्ठ ब्यक्ति त्यहाँ उपचार गराउन गएनन् ।

लाखौं खर्च गरेर डिलक्स क्याविन बनाइएपछि विशिष्ठ व्यक्ति स्वदेशमा स्वास्थ्य परीक्षण र उपचार गराउँदैनन् । यही क्रमलाई निरन्तरता दिदैं बिहीबार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका नाममा थाइल्याण्ड गए । उनलाई पछ्याउँदै अर्का विशिष्ट व्यक्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्यही निहुँमा शुक्रबार सिंगापुर गए ।

-अर्जुन पौडेल, नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्