३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


द्रुतमार्ग सरकार आफैंले बनाउँछ, चिन्ता नगर्नोस् : प्रधानमन्त्री


0
Shares

काठमाडौं, भदौ १३ । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं–तराई–मधेस द्रुतमार्ग कुनैपनि विदेशी कम्पनीलाई दिने सोचमा आफू नरहेको बताएका छन् ।

प्रधानमन्त्रीले भने–‘द्रुतमार्ग नेपालले नै बनाउनुपर्छ भन्ने अघिल्लो सरकारको निर्णय मेरै पहलमा भएको हो । त्यतिबेला म उच्चस्तरीय राजनीतिक समितिको संयोजक थिएँ । मेरै जोडबलमा केपी ओलीजीको सरकारले त्यो निर्णय गरेको हो । द्रुतमार्ग विदेशी कम्पनीलाई दिने भन्नेबारे चलाइएका हल्ला पूर्णतः निराधार हुन् । यो कुरामा सबै प्रस्ट हुन जरुरी छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा राष्ट्रिय सरोकार अभियान नेपालको टोलीसँगको भेटमा प्रधानमन्त्रीले राष्ट्रिय महत्वका आयोजना सरकार आफैंले अगाडि बढाउने र त्यसमा कुनैपनि आशंका नगर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले भने–‘राष्ट्रिय महत्वका विषयमा राष्ट्र हितविपरीत निर्णय नहुन् भन्नेमा तपाइँले गराएको ध्यानाकर्षण महत्वपूर्ण छ । यहाँहरुले भनेजस्तै भ्रमणअघि नै उच्चस्तरीय सम्मेलनको आयोजना गर्न त समय पुग्दैन तर भ्रमणमा जानुअघि विज्ञ बोलाएर नीतिगत र प्राविधिक राय लिनेछु । सोही रायका आधारमा सरकारले आवश्यक निर्णय गर्नेछ ।’

प्रधानमन्त्रीले आफू धेरै बोल्नेभन्दा धेरै गर्ने ठाउँमा भएको जोड दिँदै भने–‘अहिले धेरै भन्नु छैन, धेरै गर्नु छ । राष्ट्रिय चिन्तासहित राखेका विषयमा म गम्भीर छु । चुनौतीहरु थुप्रै छन् । मिलेर सामना गरेरमात्र यसलाई अवसरमा बदल्न सकिन्छ ।’

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढ गर्न सबैलाई मिलाएर लानुपर्नेमा जोड दिँदै संविधान कार्यान्वयन राष्ट्रिय एकता सुदृढ गर्दै सबै शक्तिसँग सहकार्य गर्न जरुरी रहेकाले आफ्नो नेतृत्वको सरकारले सहकार्य गर्दा कसैसँग राष्ट्रिय हितविपरीत सम्झौता नगर्ने स्पस्ट पारे ।

प्रधानमन्त्रीले राष्ट्रिय स्रोत–साधन भएरपनि गरिब हुनुपर्ने र सम्पन्न हुने नाममा राष्ट्रियतामाथि खेलबाड गर्ने दुबै प्रवृत्ति रहेको भन्दै आफू दुबै अतिवादबाट बचेर सन्तुलित ढंगले अगाडि बढ्ने बताए ।

भेटमा प्रधानमन्त्रीले माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता (पीडीए) गर्नेबेला माओवादी केन्द्र प्रतिपक्षमा रहेको जानकारी गराउँदै माथिल्लो कर्णालीको विषयमा माओवादी केन्द्रको असहमति रहेको जानकारी गराएको जलस्रोत क्षेत्रका जानकार डा. गोपाल शिवाकोटी ‘चिन्तन’ले जानकारी दिए ।

भेटमा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, विज्ञ प्रा.डा. हरि पण्डित, डा. शिवाकोटी डा. द्वारिकालाल ढुंगेल, रत्नसंसार श्रेष्ठ, लोकबहादुर रावत, भरतबहादुर शाही, डा. मंगल विश्वकर्मालगायतले निजगढ–काठमाडौं द्रुतमार्ग, माथिल्लो कर्णाली, अरुण तेस्रो, उपल्लो मर्स्याङदी जलविद्युत् आयोजनालगायतका राष्ट्रिय आयोजना नेपाली लगानीमा नै निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । रासस