२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024


वीरगन्जमा गतबर्ष नाकाबन्दीको मार, यस बर्ष महंगीको(भिडियो)


0
Shares

-अनिल तिवारी, ईमेज

वीरगन्ज, भदौ १६ । दिनदिनै बढ्दै गएको महंगीले जनताको ढाड सेकिँदै गएको छ । महँगीका कारण निम्न आय भएकाहरुको दैनिकी नै कष्टकर बनेको छ ।

खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा भएको अत्यधिक मूल्यवृद्धिले पर्साका सर्वसाधारण पनि मारमा परेका छन् ।

न्यून आय भएकाहरुका लागि महंगीको मार अत्यधिक परेको छ । सरकारले महंगी र कालोबजारी नियन्त्रणका लागि विभिन्न प्रयास गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

मूल्यवृद्धि सरकारी नियन्त्रण बाहिर पुगेको छ । मुलुकको मुख्य प्रवेशद्वार र आपूर्ति केन्द्र मानिएको वीरगन्ज र आसपासका क्षेत्रमा समेत महँगी निकै बढेको छ ।

गत वर्ष भएको लामो मधेस आन्दोलन र भारतीय नाकाबन्दीले बढाएको मूल्य अझै नियन्त्रणमा आउन सकेको छैन ।

जसका कारण न्यून आय भएका परिवारको जिवन यापन कठिन भएको छ । दाल, चामल, तेल, चिनी, तरकारी, फलफूलसहित निर्माण सामाग्रीहरुको मुल्य गत बर्षभन्दा दोब्बर भएको व्यवसायी उमेशकुमार गुप्ता बताउँछन् ।

महंगी र कालोबजारी नियन्त्रण गर्न प्रशासनले सक्रियता देखाएको छ । तर प्रशासनिक सक्रियताले मूल्य नियन्त्रणमा कुनै प्रभाव पारेको छैन ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी कालोबजारी र अनियमितता नियन्त्रण गर्न आफूहरुले दुई हप्तादेखि अनुगमनलाई तिव्रता दिइरहेको बताउँछन् ।

उपभोक्ता अधिकारकर्मीहरु भने प्रशासनको अनुगमनलाई झारा टार्ने काम मात्र भनी टिप्पणी गर्छन् । उपभोक्ता मञ्च पर्साका अध्यक्ष दिना गुप्ता बजार अनुगमनलाई सरकारी खाना पूर्ति गर्ने माध्यम मात्र भएको बताउँछन् ।

नेपालीहरुको ठूला चाडपर्व नजिकिँदै गएका बेला बजारमा उपभोग्य वस्तुको भाउ छोइनसक्नु भएको छ । सरकारले महंगी नियन्त्रणका लागि प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाए पनि त्यो ओठे प्रतिबद्धतामै सिमित भएको छ ।

गतवर्षको बन्द र नाकाबन्दीका कारण दसैं–तिहार र छठलगायतका पर्व खल्लो भए पनि यस बर्ष राम्रोसँग मनाउन पाइने आशामा बसेका तराईबासीलाई यस पटकको महंगीले झन् निराश पार्दै गएको छ ।