मन्त्री गगन थापाले डा. केसीलाई भने–‘माग पूरा गर्ने विषयमा काम अगाडि बढिसक्यो’ • Image Khabar Image Khabar


मन्त्री गगन थापाले डा. केसीलाई भने–‘माग पूरा गर्ने विषयमा काम अगाडि बढिसक्यो’


Imagekhabar
१८ भाद्र २०७३, शनिबार ०२:१७

मन्त्री गगन थापाले डा. केसीलाई भने–‘माग पूरा गर्ने विषयमा काम अगाडि बढिसक्यो’

काठमाडौं, भदौ १७ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले शुक्रबार डा. गोविन्द केसीलाई भेट गरी उनको मागका र स्वास्थ्यक्षेत्र सुधारका विषयमा छलफल गरेका छन् ।

शिक्षण अस्पताल, महाराजगन्ज पुगी मन्त्री थापाले डा. केसीलाई भेट गरेका हुन् । भेटकाक्रममा डा. केसीले आफूले उठाएका मागका विषयमा मन्त्रालयले के गरिरहेको छ ? भन्ने विषयमा चासो व्यक्त गरेका थिए ।

जवाफमा मन्त्री थापाले आफू सधैं उनले उठाएको मागको पक्षमा रहेकाले ती माग पूरा गर्ने विषयमा सकारात्मकरुपमा काम अगाडि बढाइसकेको जानकारी गराएका थिए ।

डा. केसीले सरकारी शिक्षण संस्थाका सबै सिट निःशुल्क गर्नुपर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज हुनुपर्ने, काठमाडौं उपत्यकामा आउँदो १० वर्षसम्म नयाँ सम्बन्धन नदिने, अधिकतम शुल्क र सिट यो वर्षझैं व्यवस्था गर्ने, केन्द्रीय प्रवेश परीक्षा लिने व्यवस्था गर्ने र त्यो मर्यादित हुने व्यवस्था गर्ने माग राख्दै आएका छन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध तत्काल संसदले महाअभियोगको प्रक्रिया अघि बढाउनुपर्ने, माथेमा प्रतिवेदनको सुझावविपरीत काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी हाल संसदमा विचाराधीन विधेयक तत्काल फिर्ता गर्नुपर्ने, चिकित्साशिक्षा नीति आउन नदिने तर आफ्नो पदीय अधिकार दुरुपयोग गरेर नीहित स्वार्थका लागि सो प्रतिष्ठान विधेयक पारित गर्न खोज्ने सांसदमाथिसमेत कानुनी प्रक्रियाबमोजिम छानबिन र कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग राख्दै आठपटकसम्म अनशन बसिसकेका छन् ।

हाल सडकबाट आफ्ना माग पूरा गर्नुपर्ने भन्दै संघर्ष थालेका केसीले माग पूरा नभए नवौंपटक आमरण अनशन बस्ने चेतावनी यसअघि नै दिइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्