२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रणवीर सिंह थापाको ऐतिहासिक घर जीर्ण, जुनसूकै बेला ढल्ने खतरा


0
Shares

काठमाडौं, भदौ १९ । नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाका कान्छा भाई रणवीर सिंह थापाको काठमाडौं, लगनस्थित घर कुन बेला ढलेर जनधनको क्षति गराउने हो भन्ने चिन्ता बढेको छ ।

गत बर्षको महाभूकम्पले क्षतविक्षत बनाएको यो ऐतिहासिक घरको विषयमा भूकम्प गएको १६ महिना पुग्दासमेत निर्णय नहुँदा स्थानीयमा त्रास बढेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २१ लगनमा ‘शिलखाना’ को नामले प्रसिद्ध यो घर नेपालमै गजुर भएको पहिलो घरको रुपमा समेत परिचित थियो ।

भूकम्पले घर पूर्णरुपमा क्षतिग्रस्त बनेपनि न यो घरको भग्नावशेष हटाइएको छ, न यहाँ अरु कुनै संरचना बनाउने विषयमा चासो देखाइएको छ ।

भूकम्पपछि यो घरभित्र रहेका केही मूर्ति तथा भित्तेचित्रहरु छाउनीस्थित संग्रहालयमा सारिएको छ । यो घरमा नेपालकै पहिलो मिति उल्लेखित विश्वरुपको भित्ते चित्र तथा लिच्छवीकालिन बौद्धचैत्य समेत रहेको थियो ।

सरकारी स्वामित्वमा रहेको यो घर अहिलेसम्म धरापकै अवस्थामा रहिरहनु तथा पुनर्निर्माणका लागि राज्य र सरोकारवाला निकायले उदासिनता देखाइएकोमा रणबीर सिंह थापाका सन्ततीले दुःख व्यक्त गरेका छन् ।

ऐतिहासिक महत्व बोकेको यो घरमा प्रयोग भएका काठपात अहिले घर बाहिरको खुला जमिनमा राखिएको छ । यी काठपात पनि घाम र पानीका कारण कुहिन थालेका छन् ।