
फाइल फोटो
काठमाडौं, भदौ २० । व्यवस्थापिका–संसदको सोमबारको शून्य समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्याकाबारेमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरुले राजविराज विमानस्थल निर्माण प्रक्रियाले गति लिन नसकेको, खोटाङ जोड्ने जयरामघाटको पुल लामो समयसम्म बन्न नसकेको र ठेकेदार कम्पनीले ध्यान नदिएको गुनासो गरे ।
सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना सार्वजनिक गरेपनि प्रभावकारीरुपमा काम हुन नसकेको र काठमाडौं उपत्यकामा चर्को खानेपानी संकट उत्पन्न भएपनि त्यसलाई समाधान गर्ने कुनै पहल नभएकामा सांसदहरुको आपत्ति थियो ।
शून्य समयमा सफलदेव सुतियार, सीता गिरी ओली, सीता नेपाली, सूर्यप्रकाश बाला राई, सञ्जयकुमार गौतमलगायतले धारणा राखेका थिए ।
सांसदहरुबीच नै सवाल जवाफ
शून्य समयमा कैलालीको घटनामा जघन्य अपराध गर्नेलाई कारबाही गर्नुपर्ने माग सांसद हर्कबोल राईले राखेपछि अर्का सांसद योगेन्द्र चौधरीले त्यसमाथि नियमापत्ति जनाए ।
सांसद चौधरीले ‘अपराधी कसलाई भन्न खोज्नुभएको ?’ भन्दै नियमापत्ति जनाएपछि सभामुख ओनसरी घर्तीले उक्त विषयप्रति सदनको ध्यानाकर्षण भएको बताएकी थिइन् । रासस
प्रतिक्रिया दिनुहोस्