‘क्लिन फिड’ चाँडै कार्यान्वयन गर्न विज्ञापन संघको पहल • Image Khabar Image Khabar


‘क्लिन फिड’ चाँडै कार्यान्वयन गर्न विज्ञापन संघको पहल


Imagekhabar
२१ भाद्र २०७३, मंगलवार ०२:३५

‘क्लिन फिड’ चाँडै कार्यान्वयन गर्न विज्ञापन संघको पहल

काठमाडौं, भदौ २० । विज्ञापनरहित ‘क्लिन फिड’ चाँडोभन्दा चाँडो लागू गर्न विज्ञापन संघले पहल गर्ने भएको छ ।

संघले सोमबार काठमाडौंमा यससम्बन्धी विज्ञ, पत्रकार, मिडिया प्रमुख तथा विज्ञापनकर्मीहरुबीच सरकारले तर्जुमा गरेको क्लिन फिड नीति २०७३ छिटोभन्दा छिटो कार्यान्वयनको लागि रणनीति तयार गर्न खुला अन्तरक्रिया गरेको हो ।

सरकारले २०७४ साल साउन १ गतेदेखि कार्यान्वयन गर्न भने पनि सकेसम्म छिटो कार्यान्वयनतर्फ लागेको संघका अध्यक्ष सन्तोष श्रेष्ठले बताए ।

हाल करिब साढे ५ अर्ब रहेको विज्ञापन बजार क्लिन फिड लागू भएपछि दोब्बरले बृद्धि हुने उनले बताए ।

यो नीति कार्यान्वयन भएपछि बहुर्राष्ट्रिय कम्पनीले आफ्ना उत्पादनको प्रबद्र्धन नेपाली मिडियाबाट गर्नुपर्ने हुन्छ, जसले गर्दा नेपालमा विज्ञापनसम्बन्धी कारोबार बृद्धि हुने उनको भनाइ छ ।

अरु विभिन्न मुलुकमा क्लिन फिड लागू भएकाले नेपालमा पनि कार्यान्वयन गर्न कुनै कठिनाइ नरहेको उनको भनाइ छ ।

क्लिन फिडका संयोजक तथा विज्ञापन संघका पूर्वअध्यक्ष निर्मलराज पौडेलले क्लिन फिड तुरुन्त कार्यान्वयन गर्न कुनै कठिनाइ भएमा यस विषयमा बहस गरी पूर्णरुपमा कार्यान्वयन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्