
काठमाडौं, भदौ २८ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले निर्वाचनमा भाग लिन पार्टीको छुट्टै मोर्चा गठन गरेको छ ।
पार्टीका वरिष्ठ नेता सीपी गजुरेल अध्यक्ष र परि थापा सचिव रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरिएको हो ।
मोर्चाको पदाधिकारीमा कमल चौधरी, केबी गुरुङ, पवनमान श्रेष्ठ, श्रीनाथ अधिकारी, नगेन्द्र राई, केसबहादुर परियार रहेका छन् ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्ष गजुरेलले निर्वाचन भएमा त्यसलाई उपयोग गर्न मोर्चा गठन गरिएको बताए ।
उनले भने–‘हामीले पार्टीलाई निर्वाचन आयोगमा दर्ता नगर्ने र पार्टी नाममा निर्वाचनमा भाग नलिने निर्णय गरेका छौं, तर आवश्यकताअनुसार मोर्चाका नाममा निर्वाचनमा भाग लिने निर्णय गरेका छौं ।’
महँगी, कालोबजारी, भ्रष्टाचार, बेरोजगारीलगायत जनजीविकाका र राष्ट्रियताका समस्या समाधान गर्न दबाब दिन मोर्चाले छिट्टै आन्दोलनका कार्यक्रम घोषणा गर्ने अध्यक्ष गजुरेलले जानकारी दिए ।
मोर्चा अब जनताको बीचमा जाने र वडास्तरसम्म संगठन विस्तारलाई तीव्रता दिइने उनको भनाइ छ ।
यसअघि, गत संविधानसभा निर्वाचन बहिस्कार गरेको सो पार्टीले मोर्चा गठन गरी अब हुने निर्वाचनमा भाग लिने तयारी गर्नुलाई अर्थपूर्णरुपमा लिइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्