प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे संसदमा के भने ? • Image Khabar Image Khabar


प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे संसदमा के भने ?


Imagekhabar
२९ भाद्र २०७३, बुधबार २१:२३

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे संसदमा के भने ?

                                                              फाइल फोटो

काठमाडौं, भदौ २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले गर्न लागेको छिमेकीमुलुक भारतको भ्रमण असल नियतकासाथ विश्वासको वातावरण बनाउने मार्गमा केन्द्रित हुने बताएका छन् ।

व्यवस्थापिका–संसदको बुधबारको बैठकमा विहीबारदेखि हुने आफ्नो भारत भ्रमणकोबारेमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले नेपाल र भारतबीच रहँदैआएको सहयोगात्मक सम्बन्ध विस्तार गर्न आफ्नो भ्रमणबाट थप सहायोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भारतको चारदिने राजकीय भ्रमणका लागि विहीबार त्यसतर्फ जाँदै छन् ।

भारत भ्रमणबाट दुई देशबीच विश्वासको अभिबृद्धि हुनुका साथै विगतमा भएका आर्थिक र भौतिक पूर्वाधारसम्बन्धी परियोजना निर्माणकाबारेमा छलफल र विचारविमर्श हुने प्रधानमन्त्रीले सदनलाई जानकारी दिए ।

‘हुलाकी मार्गको पहिलो चरणको निर्माणको कामको शीघ्र थालनी, दोस्रो चरणको निर्माणकाबारेमा छलफल, ऊर्जाव्यापार सम्झौता, पञ्चेश्वर आयोजनाको अध्ययन प्रतिवेदनको कार्यान्वयलगायतकाबारेमा छलफल हुनेछ’–उनले भने ।

वीरगन्जमा रहेको चेकपोस्टलाई कार्यान्वयन गर्दै भैरहवा र विराटनगरलगायतका स्थानमा एकीकृत चेकपोस्टको शीघ्र निर्माण पूरा गर्ने तथा सहुलियत प्राप्त गर्ने विषयमा कुराकानी हुनुका साथै नेपालको व्यापारघाटा कम गर्न, सीमापार रेलसेवा विस्तार छिटो सम्पन्न गर्ने विषयमासमेत छलफल र विचारविमर्श हुने प्रधानमन्त्री दाहालले जानकारी दिए ।

प्रधानमन्त्रीको भारत भ्रमणकाक्रममा नेपाल–भारत सीमा क्षेत्रमा हुँदै आएको डुबान समस्या समाधान गर्न गहनरुपमा छलफल गरिने तथा विशाखापटनम नाका प्रयोगका सम्बन्धमा विगतमा भएको सहमतिलाई समयानुकुल बनाउन संशोधनसम्बन्धी सहमतिपत्र आदानप्रदान गरिनेछ ।

प्रधानमन्त्री दाहालले बैठकमा आफनो भारत भ्रमणसम्बन्धी कार्यक्रम र भ्रमण दलमा रहने व्यक्तिकोबारेमा जानकारी दिएका थिए ।

संसदको यसअघिका बैठकमा सांसदहरुले प्रधानमन्त्रीको भारत भ्रमणकाक्रममा राष्ट्रको शीर झुकाउने कुनै सम्झौता नगर्न सुझाव दिँदै असमान सन्धि, भारतबाट आएको सीमा हस्तक्षेपका सवालबारे प्रधानमन्त्री दाहाललाई आफ्ना समकक्षीसँग स्पस्ट ढंगबाट कुरा राख्न सल्लाह दिएका थिए ।

सो अवसरमा केही सांसदले भने सार्वभौम देशको प्रधानमन्त्रीले मुलुककाबारेमा निर्णय गर्नसक्ने भएको हुँदा दुई देशका सम्बन्ध अघि बढाउन र मुलुकको हितमा काम गर्न कसैले धम्की दिँदैमा खुट्टा नकमाउन आग्रह गरेका थिए । रासस

 

प्रतिक्रिया दिनुहोस्