
तस्विर सौजन्य: हरिजंग थापा
काठमाडौं, भदौ ३० । स्वास्थ्य समस्याले अभिनयबाटै टाढिएका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि अभिनयमा फर्किएका छन् ।
‘डिप्रेसन’का कारण थलिएको भन्दै मिडियामा अनेक आशंका भइरहेका बेला माग्ने बुढा एक म्यूजिक भिडियोको देखिएका छन् ।
उनको आफ्नै स्वर तथा शब्द रहेको ‘मन्त्रीको सालो….’ गीतको म्यूजिक भिडियोको सुटिङ धमाधम भइरहेको छ । गीतमा संगीत भने हरि लम्सालको छ । माग्ने बुढा बानेश्वरमा त्यही गीतको सुटिङमा भेटिए ।
‘छक्का पञ्जा’ फिल्मपछि माग्ने बुढाले अभिनय यात्रामा ब्रेक लिएका थिए । ‘स्वास्थ्य कमजोर भएका कारण म दर्शक माझ आउन सकेको थिइनँ,’ उनले भने, ‘अहिले सुधार भइरहेको छ, अब विस्तारै अभिनय यात्रालाई निरन्तरता दिन्छु ।’
माग्ने बुढासहितका कलाकार अभिनित फिल्म ‘छक्का पञ्जा’ले देश/विदेशमा लोकप्रियता कमाइरहेको छ ।
विल्सनविक्रम राई ‘तक्मे बुढा’ र राज मोक्तानसहितको यूरोप यात्रामा निस्कँदा माग्ने बुढाले मन्त्रीको सालो गीत कोरेका थिए ।
उनले यूरोपमा भएका विभिन्न कार्यक्रममा यो गीत गाएर दर्शक हँसाएका थिए ।
प्रतिक्रिया दिनुहोस्