२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


क्यानको विधान संशोधन गरी नयाँ नेतृत्व छान्न सल्लाहकार समूह गठन


0
Shares

काठमाडौं, असोज २० । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) को जारी विधान संशोधन गरी स्वच्छ र निष्पक्ष निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारीसहित सल्लाहकार समूह गठन गरेको छ ।

समूहमा नेपाली क्रिकेटका पूर्वपदाधिकारी, प्रायोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयका प्रतिनिधि समावेश छन् ।

पाँच सदस्यीय समूहमा क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे, पूर्व कार्यवाहक अध्यक्ष दीपक कोइराला तथा राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवाल छन् । यस्तै समूहमा खेलकुद मन्त्रालयबाट सहसचिव चुडामणि पौडेल तथा राखेपबाट प्रेस सल्लाहकार रोहित दहाल सदस्य छन् । प्रायोजकबाट चौधरी समूहका वसन्त चौधरी सदस्य छन् ।

आईसीसीले यसअघि छलफल भएअनुसार क्यानको निर्वाचित समितिलाई भने सल्लाहकार समूहमा समावेश गरेको छैन ।

गत भदौ १९ मा आईसीसीका प्रमुख कार्यकारी डेभिट रिचर्डसनसहितको टोली नेपाल आइ नेपाली क्रिकेटको विवाद समाधानका लागि सबै पक्षलाई समेटेर सल्लाहकार समूह बनाउने सहमति भएको थियो ।

आईसीसीले समूहमा समावेश गरिएका सदस्यहरुलाई पत्राचारसमेत गरिसकेको छ, जसमा आगामी डिसेम्बरभित्र क्यानको वर्तमान विधान संशोधन गरी नयाँ नेतृत्वका लागि स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी दिइएको जनाइएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट