Logo ७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026


कपिलवस्तुमा हुण्डी कारोबारमा संलग्न युवक १४ लाख भारतीय रुपैयाँसहित पक्राउ


429
Shares

सुशिल गैरे, कपिलवस्तु ।

कपिलवस्तु प्रहरीले एकजना हुण्डी कारोबारीलाई १४ लाख भारतीय रुपैयाँसहित पक्रेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको विशेष टोलीले तौलिहवा क्षेत्रबाट मायादेवी–१, बर्रोहियाका २२ वर्षीय अभिषेक गुप्तालाई १४ लाख भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रहरीले गुप्ता सवार लु.१८ प ४७४७ नम्बरको पल्सर मोटरसाइकल समेत नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । डीएसपी रिपेन्द्र कुमार सिंहका अनुसार बर्रोहियामा रहेको न्यू गुप्ता आयल सेन्टरका सञ्चालक अभिषेकका बुबा सुरेश कुमार गुप्ता यस अघिदेखि नै प्रहरीको निगरानीमा थिए।

गत असारमा हुण्डी कारोबारी गुप्ताका भरिया निरज श्रीवास्तव १६ लाख रुपैयाँसहित पक्राउ परेका थिए । त्यसपछि साउनमा पकडी प्रहरीले १० लाख रुपैयाँ अवैध रकमसहित सुरेशका भाइ विष्णु गुप्तालाई पक्राउ गर्यो । उनीहरू सबैलाई राजश्व अनुसन्धान कार्यालयले धरौटीमा छाडे पनि मुद्दा विचाराधीन छ।

हुण्डी कारोबारमा सक्रिय गुप्ताले पेट्रोल पम्पको आडमा अवैध रकम कारोबार गर्दै आएका थिए। भारतको सिद्धार्थनगर जिल्ला, अलिगढवा थानाअन्तर्गत बरकुल निवासी गुप्ता परिवारका सदस्यहरुसँग दोहोरो नागरिकता भएको आरोप छ। प्रहरीले भने यस घटनासँग अन्य कारोबारीहरू समेत जोडिएको हुनसक्ने आशंका गरेको छ ।