
ब्रिस्टोल, असार २५ । इंग्ल्यान्डविरुद्धको ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला भारतले जितेको छ ।
गएराति भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै भारतले शृङ्खला २–१ ले जितेको हो ।
इंग्ल्यान्डको ब्रिस्टोलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९८ रन जोड्यो । उसका लागि सुरुवाती ब्याट्सम्यान जेसन रोयले ६७ रनको योगदान दिए । बलिङतर्फ भारतका हार्दिक पाण्डेले ४ विकेट लिए ।
जवाफमा १९९ रनको चुनौती भारतले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गरेको हो ।
भारतको जितमा रोहित शर्माले अविजित सय रन जोड्दा विराट कोहलीले ४३ रनको योगदान दिए । जितसँगै भारतले तीन खेलको ट्वेन्टी ट्वेन्टी क्रिकेट शृङ्खला २–१ ले जितेको छ ।
दुई देशबीचको तीन एक दिवसीय क्रिकेट शृङ्खला यही बिहीबार ट्रेण्ट ब्रिजमा सुरु हुनेछ । त्यसपछि अगष्ट १ तारिखदेखि ५ टेष्ट शृङ्खला हुनेछ ।
प्रतिक्रिया दिनुहोस्