
काठमाडौं, असोज ३० । चीनका राष्ट्रपति सी जिनपिङले नेपालमा गतवर्ष जारी भएको संविधानको प्रभावकारी कार्यान्वयनका लागि आन्तरिक एकता आवश्यक रहेको बताएका छन् ।
ब्रिक्स सम्मेलनमा भाग लिन भारतको गोवा आएका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा चिनियाँ राष्ट्रपतिले यस्तो धारणा राखेका हुन् । भेटमा प्रधानमन्त्री दाहालले नेपालमा जारी भएको संविधानको चीनले गतवर्ष स्वागत गरेकोमा खुसी प्रकट गर्दे धन्यवाद व्यक्त गरेका थिए ।
‘चिनियाँ राष्ट्रपतिले आन्तरिक एकतामा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले केही आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्दै सरकार संविधान कार्यान्वयनमा लागेको जानकारी गराउनुभयो,’ भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भने । विशेषतः मधेसवादी दलहरुले संविधानको सन्दर्भमा असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
दाहाल र चिनियाँ राष्ट्रपतिबीचको भेटमा नेपाल, भारत र चीनको त्रिदेशीय साझेदारीको सन्दर्भमा समेत छलफल भएको छ । चीनले अगाडि बढाउन चाहेको यो अवधारणासँग प्रधानमन्त्री दाहाल पनि सहमत छन् ।
भारतले भने यो अवधारणालाई रुचाएको छैन ।
भेटमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्