
काठमाडौं, कार्तिक १ । भारतले शनिबार साँझ नेपाल, भारत र चीनका कार्यकारी प्रमुखहरुबीच भएको भेटवार्तामा त्रिपक्षीय साझेदारीलाई लिएर सहमति नभएको प्रतिक्रिया दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल बसिरहेको ‘वेटिङ रुम’ मा पहिलो चिनियाँ राष्ट्रपति सी जिनपिङ र केही पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिरेपछि तीन नेताबीच अनौपचारिक कुराकानी भएको थियो ।
भारतीय विदेशमन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा विदेश प्रवक्ता विकास स्वरुपले उक्त भेटबारे आफूले प्रधानमन्त्री मोदीसँग जिज्ञासा राखेको बताए ।
उनले मोदीलाई उद्धृत गर्दै भने, ‘त्यो संयोगवश भएको मात्रै हो, एकै समयमा तीनै नेता लिडर्स लाउन्जमा उपस्थित थिए । नेपाल र चीनको द्विपक्षीय वार्ता पहिले नै सकिइसकेको थियो । मलाई थाहा छैन, मानिसहरुले कुन आधारमा यसलाई त्रिपक्षीय वा अरु केही वार्ता भनिरहेका छन् ।’
नेपाल र चीनले अघि सार्दै आएको त्रिपक्षीय साझेदारी प्रस्तावलाई भारतले हालसम्म स्वीकारेको छैन । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्