२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


संविधान संशोधनसम्म पर्खन मधेसवादी दललाई भारतीय राष्ट्रपतिको सुझाव


0
Shares

काठमाडौं, कात्तिक १९ । संविधान संशोधन तयारी चलिरहेका बेला नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले मधेसवादी दलका नेतालाई पर्खन सुझाव दिएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध सात मधेसवादी दलका अध्यक्षलाई भ्रमणको दोस्रो दिन बिहीबार राति भेट्दै मुखर्जीले ‘संविधान संशोधन हुने’ विश्वाससमेत व्यक्त गरेका छन् ।

‘यहाँ प्रधानमन्त्रीजीसँग कुरा हुँदा उहाँले संशोधनका लागि प्रयास भइरहेको छ भन्नुभएको छ,’ मुखर्जीको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘तपाईहरुको माग सम्बोधन हुने अवस्थामा सकभर संघर्षमा जानुपर्ने स्थिति नआओस् भन्ने चाहना छ । अब संविधान कार्यान्वयनबाटै नेपालले प्रगति गर्न सक्छ ।’

झण्डै आधाघण्टाको भेटमा मुखर्जीपछि बोल्दै तमलोपा अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव दर्ता हुने र मोर्चाको माग सम्बोधन हुनेमा आशंका रहेको बताएका थिए ।

ठाकुरपछि बोल्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन हुनै नसक्ने भन्दै आन्दोलन निर्विकल्प रहेको बताएका थिए ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अन्तरिम संविधानभन्दा पछि फर्केर संविधान जारी भएको भन्दै मधेसी समुदायको असन्तुष्टि कायमै रहेको बताए । –कान्तिपुर दैनिकबाट