
काठमाडौं, मंसिर ७ । विभिन्न अपराधमा जेल पर्ने कैदीबन्दी पाल्न वर्षमा ६७ करोड रुपैयाँ खर्च हुने गरेको छ । सरकारले उनीहरूलाई दैनिक रूपमा दिने चामल, नगद तथा लत्ताकपडा खरिदका लागि यो रकम खर्च हुने गरेको हो ।
जेलमा परेका कैदीबन्दी मात्र होइनन्, उनीहरूमाथि आश्रित (जेलमा उनीहरूसँगै बस्नुपर्ने अवस्थाका)लाई पाल्ने जिम्मेवारी पनि सरकारले नै निभाउँदै आएको छ । आर्थिक वर्ष ०७२/७३ मा उनीहरूको चामल, सिधा (नगद रकम) र कपडामा मात्र ६७ करोड ५८ लाख ७४ हजार पाँच सय ६३ रुपैयाँ खर्च भएको कारागार व्यवस्था विभागले जनाएको छ ।
कति छन् कैदीबन्दी ?
असोज मसान्तसम्मको तथ्यांकअनुसार नेपालका जेलमा करिब १८ हजार कैदीबन्दी छन् । जुन संख्या हरेक दिन घटबढ हुन्छ । हरेक दिन नयाँ व्यक्ति जेल जाने र पुराना छुट्ने प्रक्रिया चलिरहन्छ । जसमध्ये नौ सय ८७ विदेशी र एक सय १४ जना कैदीबन्दीका आश्रित छन् । विदेशीमा सबैभन्दा धेरै भारतीय र चिनियाँ छन् । अमेरिका, युरोप तथा अफ्रिकन देशका नागरिक पनि नेपालको जेलमा छन् । जेलमा आश्रितहरूलाई पनि चामलका साथै दैनिक भत्तासमेत सरकारले दिनुपर्छ ।
खान पुगेन भन्दै शोभराजले हाले रिट
दैनिक ४५ रुपैयाँ खर्चले नपुग्ने भन्दै कुख्यात अपराधी चार्ल्स शोभराजले सर्वोच्च अदालतमा रिट हालेका थिए । सो रिटमा सुनुवाइ गर्दै गत महिना सर्वोच्च अदालतले कैदीबन्दीको खर्च बढाउन आदेश दिएको थियो । तर, सरकारले आदेश पालनामा चासो दिएको छैन ।
गत वर्ष कारागार व्यवस्था विभागले सुविधा बढाउनेसम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो । तर, अर्थ मन्त्रालयले प्रस्ताव अस्वीकार गरेपछि बजेट थपिएको छैन । कैदीबन्दीलाई दिइने चामल पर्याप्त भए पनि दैनिक खर्च (४५ रुपैयाँ)ले तरकारीलगायत अन्य खर्च पुर्याउन कठिने हुने विभागका निर्देशक वेदप्रसाद कार्कीले बताए । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्