
काठमाडौं, मंसिर ७ । मुआब्जा समस्याले तिनकुनेको खाली जग्गामा शािन्त मण्डला बनाउने योजना अलपत्र परेको छ । काठमाडौं महानगरपालिकाले मण्डला निर्माण गर्न सम्भाव्यता अध्ययन गरिसकेको छ ।
महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले मुआब्जा समस्याकै कारण मण्डला निर्माणको काम अघि नबढेको बताए । ‘तिनकुनेमा अत्याधुनिक ल्याण्डमार्क बनाउने योजना बन्यो, यसको सम्भाव्यता अध्ययन पनि भयो,’ कार्कीले भने, ‘त्यसपछिको काम अघि बढ्न सकेको छैन । यसको मुख्य कारण मुआब्जा समस्या नै हो । यो समस्या समाधान भए काम अघि बढ्छ ।’
महानगरका अनुसार जग्गा अधिग्रहणपछि ८० प्रतिशतले मुआब्जा लिइसकेका छन् । २० प्रतिशत अर्थात् आठ जग्गाधनीले मुआब्जा लिएका छैनन् । महानगरले भने मुआब्जा रकम जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पठाइसकेको छ ।
यस्तो छ, मुआब्जा समस्या
महानगरका अनुसार तीनकुनेमा ३५ रोपनी एक आना २ पैसा ३ दाम जग्गा छ । त्यसमध्ये मुआब्जा वितरणयोग्य जग्गा ३० रोपनी हो । सरकारले सार्वजनिक सूचना निकालेर २१ रोपनी ११ आना २ पैसा १ दशमलव ९ दामको जग्गाको मुआब्जा वितरण गरिसकेको छ । बाँकी करिब आठ रोपनी जग्गाका धनीले मुआब्जा लिन मानेका छैनन् ।
आठ जग्गा धनीले मुआब्जा कम भएको भन्दै रकम लिन मानेका छैनन् । उनीहरुले सडकको बीच भागबाट २५ मिटर दायाँबायाँ पर्ने जग्गाको मुआब्जा माग गरेको महानगरले जनाएको छ । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्