
काठमाडौं, मंसिर २२ । महानगरीय प्रहरी अपराध महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालबाट अपराध हुने संख्यामा बृद्धि आएको जनाएको छ ।
नेपालमा सामाजिक सञ्जालको विकाससँगै सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा एक व्यक्तिले अर्को व्यक्तिको नाममा नक्कली आइडी बनाएर अपराध गर्ने गरेको प्रहरीले फेलापारेको हो ।
महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले अपरिचित व्यक्तिले आफ्नो मन नपरेको व्यक्तिको प्रतिष्ठालाई सिध्याउन अर्कोको नाममा नक्कली आइडी चलाउने गरेको जानकारी दिए ।
उनले भने–‘२० देखि ३० वर्ष उमेरका मानिस बढी साइबर अपराधमा सक्रिय भएका छन् ।’
महाशाखामा दैनिक साइबर अपराधका पाँचदेखि सातओटा घटना दर्ता हुने गरेको छ । महाशाखामा दर्ता भएका घटनामध्ये ९० प्रतिशत फेसबुकबाट हुने रहेको महाशाखाले जनाएको छ ।
महाशाखामा आर्थिक वर्ष २०७२/७३ मा आठसय ३० र आव ०७३/७४ मा चारसय ६६ अपराध दर्ता भएका छन् ।
तीमध्ये आव २०७२/७३ मा १७ र आव २०७३/७४ मा १५ मुद्दा दर्ता अदालतमा गएको र बाँकीलाई ब्लक गर्न या नयाँ आइडी बनाएर फेसबुकको प्रयोग गर्न लगाएको रायले बताए ।
अपराधमा विद्यार्थी तथा गृहिणीदेखि जागिरेसम्म रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले नचिनेका व्यक्तिलाई फेसबुकमार्फत् साथी बनाउँदा साइबर अपराधका घटना बढेको बताउँछन् ।
उनी भन्छन्–‘जथाभावी सामाजिक सञ्जालमा लेख्ने वा अर्कोको नाममा आइडी बनाउने व्यक्तिलाई कडा कानुन बनाइ कारबाही गरेमात्र यस्ता घटना घट्छ ।’
खनालले सामाजिक सञ्जालको प्रयोगका लागि नेपालमा आफ्नै साइट बनाउनु जरुरी रहेको बताए ।
उनले साइबर अपराधका घटना कम गर्न छुट्टै निकाय आवश्यक रहेको उल्लेख गरे । रासस
प्रतिक्रिया दिनुहोस्