३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


डीपीएल क्रिकेटः राष्ट्रिय खेलाडीको न्यूनतम् मूल्य ५० हजार, बोलकबोल हुने


0
Shares

काठमाडौं, मंसिर २९ । कैलालीको धनगढीमा यही चैत ५ गतेदेखि सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीले यसअघि गर्दै आएका दुई बेग्लाबेग्लै क्रिकेट प्रतियोगिता डीसीएल र एसपीए कपलाई ‘मर्ज’ गरेर नयाँ प्रतियोगिता घोषणा गरिएको हो ।

प्रतियोगिताका लागि बुधबार (आज)देखि खेलाडी दर्ता सुरु भएको छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बुधबार राजधानीमा एक पत्रकार सम्मेलनकैबीच खेलाडी दर्ताको सुरुआत गरेका हुन् ।

इन्डियन प्रिमियर लिग (आइपीएल)माजस्तै खेलाडीहरुको बोलकबोल गरी विभिन्न सहर र व्यावसायिक घरानाको नाममा टोली घोषणा गर्ने आयोजकको तयारी छ ।

यसका लागि राष्ट्रिय खेलाडीहरुको न्यूनतम् मूल्य ५० हजार, यु–१९ तथा पूर्वराष्ट्रिय खेलाडीको ३० हजार तथा अरु खेलाडीको न्यूनतम् २० हजार रुपैयाँ निर्धारण गरीएको छ ।

टोली बनाउन चाहने कर्पोरेट हाउसहरुले त्योभन्दा बढी मूल्य कबोल गरेर खेलाडी किन्न सक्नेछन् । आगामी पुस २३ गते खेलाडीहरुको ‘अक्सन’ गरिनेछ ।

यसपछि प्रतियोगिताको खेलतालिका निकालिने आयोजकले जनाएको छ । प्रतियोगिताको मूख्य प्रायोजन गरेबापत सगरमाथा सिमेन्टले १५ लाख रुपैयाँ दिनेछ ।

प्रतियोगिताको विजेता टोलीले १५ लाख रुपैयाँ पुरस्कार जित्नेछ भने उपविजेताले ७ लाख रुपैयाँ पाउने छ ।

ट्वेन्टी–२० ढाँचामा सन्चालन हुने प्रतियोगिता आयोजना गर्न कुल १ करोड ६० लाख रुपैयाँ खर्च हुने आयोजकको दाबी छ ।

प्रतियोगिताबापत उठेको रकम कैलालीको फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने लक्ष्यका साथ सुरु गरिएको ड्रिम फाप्ला प्रोजेक्टमा सहयोग गरिने जनाइएको छ ।