
काठमाडौं, असार २३ । थाइल्यान्डको उत्तरी यिचाङ राइस्थित एक बाढीग्रस्त गुफामा फसिरहेका बालकहरुले परिवारलाई पत्र लेखी चिन्ता नलिन र आफूहरु सबै ‘बहादुर’ भएको बताएका छन् ।
दुई हप्तादेखि गुफामा फसिरहेका उनीहरुमध्ये केहीले आफूलाई मनपर्ने खाना पनि मगाएका छन् ।
२५ वर्षीय प्रशिक्षकले पनि बालकहरुको सुरक्षाका लागि सबथोक गर्ने बताउँदै जे भयो, त्यसका लागि माफी मागेका छन् ।
थाइल्यान्डको नेभीका गोताखोरहरुको एक दलले गुफाबाट पत्र लिएर आएको थियो ।
बालकहरुलाई सास लिन समस्या नहोस् भनेर गुफामा अक्सिजनको लाइन राखिएको अधिकारीहरुले जनाएका छन् ।
त्यहाँ अक्सिजनको स्तर कम्तीमा २१ प्रतिशत चाहिनेमा १५ प्रतिशतमात्र रहेको बताइएको छ । गुफामा पानीको स्तर बढ्दै जाँदा स्थिति चुनौतीपूर्ण बन्दै गएको छ ।
११ देखि १६ वर्षका ती सबै बालकहरु गत जुन २३ गते साँझ आफ्नो फुटबल प्रशिक्षकसँग गुफा हेर्न गएका थिए । तर, बाढीको पानीका कारण बाहिर निस्कन नसकेपछि उनीहरु त्यही फसेका छन् ।
उनीहरुले गुफाभित्र बाढीको पानीबाट बच्ने ठाउँ फेलापारेपछि त्यहीँ बसिरहेका छन् । ९ दिनपछि उनीहरुलाई गोताखोरले फेलापारेका थिए ।
त्यहाँ पानीको बहाव अत्यन्त धेरै रहेको छ । अत्यन्त खतरनाक उक्त ठाउँमा अक्सिन पुर्याएर फर्कंदा शुक्रबारमात्र एकजना गोताखोरको अक्सिजनको अभावका कारण मृत्यु भएको थियो । बाढीको भेलकै कारण उनीहरुको उद्धारमा कठिनाइ भइरहेको हो ।
गुफाको प्रवेशद्वारबाट बालकहरु बसेको ठाउँसम्म पुग्न ६ घन्टा र फर्कन पाँच घन्टा लाग्ने बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्