
काठमाडौं, मंसिर २९ । नेपालका रत्नजित तामाङ र शिक्षा श्रेष्ठ नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार रत्नजितले भारतका अमन कुमारलाई पुरुष एकलमा २१–१३ र २१–१९ को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरे ।
यस्तै, महिला एकलतर्फ शिक्षाले बंगलादेशकी एलिना सुल्तानलाई २२–२०, १९–२१ र २१–१७ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाइन् ।
यसैगरी, रत्नजित र दीपेश धामीको जोडी पनि अन्तिम आठमा स्थान बनाउन सफल भएको छ ।
रत्न र दीपेशको जोडीले बंगलादेशका मोहम्मद अनामुल हक र मोज्जाम हुसैनको जोडीलाई १८–२१, २१–१६ र २१–६ ले पराजित गरे ।
पुरुष एकलतर्फ भएका अरु खेलमा भियतनामका दुक फात लेले नेपालका दीपेश धामीलाई २१–१३ र २१–१२ ले तथा भारतका अभिषेक यलेगरले नेपालका बिष्णु कटुवाललाई २१–६ र २१–११ ले हराउंँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।
महिला एकलमा नेपालकी पुनम गुरुङले प्रतियोगितबाट आफ्नो नाम फिर्ता लिएपछि भियतनामकी थुई लिन्ह ङयुयेन पनि क्वार्टरफाइनलमा प्रवेश गरिन् ।
यस्तै, इरानकी अघाई हाजीआघा सोरायाले नेपालकी अमिता गिरीलाई २१–६ र २१–१३ ले तथा पाकिस्तानकी महुर शाहजादले नेपालकी नङसल तामाङलाई २१–१८ र २१–१९ ले पराजित गर्दै अन्तिम आठमा ठाउँ बनाइन् ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा जारी प्रतियोगिताको पुरुष डबल्स र महिला डबल्समा कुनैपनि नेपाली जोडी क्वार्टरफाइनलमा पुग्न सकेन ।
प्रतिक्रिया दिनुहोस्