२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सुनकोसीको पानी वाग्मतीमा मिसाएर बगाउने योजना, यस्तो छ लक्ष्य


0
Shares

काठमाडौं, पुस १ । सरकारले मध्य तराईका पाँच जिल्लामा वर्षैभरी सिंचाइ सुविधा पु¥याउन सुनकोसीको पानी वाग्मती नदीमा खसाल्ने आयोजनालाई अघि बढाएको छ ।

सिंचाइ मन्त्रालयको प्रस्तावित उक्त आयोजनाले यस आर्थिक वर्षबाट औपचारिकता पाएको छ । सुनकोसीको पानी सिन्धुलीको मरिन खोलामा झारेर सर्लाहीस्थित वाग्मती नदीमा पुर्‍याउने मन्त्रालयले सारेको पछिल्लो महत्वाकांक्षी बहुउद्देश्यीय आयोजना हो ।

मन्त्रालयले सुनकोसी–मरिन–वाग्मती आयोजनाको छुट्टै कार्यालय खोलेर त्यसको काम अघि बढाएको छ । सरकारले चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट छुट्याएपछि त्यस आयोजनालाई संस्थागत रुपमा अघि बढाउन कार्यालय स्थापना गरिएको मन्त्रालयका प्रवक्ता सहसचिव सागरकुमार राईले बताए ।

पूर्वसम्भाव्यता अध्ययले सिन्धुली–रामेछाप सिमानाको खुर्कोट आसपास बाँध बनाएर पानी डाइभर्सन गरी पहाडमा सुरुङ बनाएर मरिन खोलामा झार्न सकिने देखाएको राईले बताए ।

१३ किलोमिटरको सुरुङमार्फत प्रतिसेकेन्ड ७७ हजार लिटर पानी ६६ मिटर माथिबाट मरिन खोलामा खसालिने र त्यसबाट ४० मेगावाट बिजुलीसमेत निकाल्न सकिने अध्ययनले देखाएको छ ।

आयोजनाको सम्पूर्ण निर्माण कामका लागि करिब ३३ अर्बको लागत अनुमान गरिएको छ । काम सुरु भएको ४ देखि ५ वर्षभित्र बनाउन सकिने अध्ययनले देखाएको राईले जानकारी दिए । –कान्तिपुर दैनिकबाट