Logo १ कार्तिक २०८२, शनिबार | Sat Oct 18 2025


कुलेखानी तेस्रोबाट प्रतिघन्टा ४० मेघावाट विद्युत् उत्पादन हुने


0
Shares

हेटौंडा, पुस २ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकास आयोजना निर्माण गर्नेक्रममा पारदर्शी र गुणस्तरीय सेवा तोकिएको समयमा पूरा गर्न सम्बन्धित आयोजनाका प्रमुखहरू बढी जिम्मेवार हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालले मकवानपुर जिल्लाको भैसे गाविस–६ कमलमत्तामा निर्माणाधीन कुलेखानी तेस्रो आयोजनाको विद्युत्गृह, जलाशयमार्ग र टर्वाइनको शनिबार निरीक्षण गर्दै ‘आयोजनाका प्रमुखले छिटो–छरितो ढंगबाट सरकारले उपलब्ध गराएको स्रोत–साधनलाई परिचालन गरी कार्य सम्पन्न गर्नुपछ’–भने ।

प्रधानमन्त्री दाहालले जनताले छिटै आयोजनाको उपलब्धि चाहेकाले विकास आयोजनाका पदाधिकारीले ढिलासुस्ती र अवरोध हुने समस्यालाई तत्कालै निराकरण गरी अघि बढ्न आग्रह गर्दै ती आयोजना निर्माणका लागि आवश्यक बजेट र प्राविधिक उपलब्ध गराउन सरकार कटिबद्ध रहेको बताए ।

उनले कुलेखानी तेस्रो आयोजनाको निर्माणकार्य गर्ने चिनियाँ ठेकेदारले ढिलासुस्ती गरेकाले ती आयोजना छिट्टै सम्पन्न गराउन नेपाल सरकारले चिनियाँ सरकारसँग पहल गर्ने बताए ।

कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुवास मिश्रले सो आयोजनाको निर्माणकार्य सन् २०१२ डिसेम्बर १५ बाट सुरु गरिएको भएपनि चिनियाँ ठेकेदारहरूले काम गर्न ढिलासुस्ती गरेकाले आगामी २०७४ साल साउन मसान्तभित्र सो आयोजनाको निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

नेपाल सरकारको रु चार अर्ब ६३ करोड लगानीमा सो निर्माणकार्य सम्पन्न हुने सो आयोजनाले जनाएको छ ।

कुलेखानी तेस्रो आयोजनाबाट प्रतिघन्टा ४० मेघावाट विद्युत् उत्पादन हुने आयोजना प्रमुख मिश्रले राससलाई जानकारी दिए ।

सो आयोजनाको भौतिक निर्माण ६० प्रतिशत पूरा भइसकेको र ४० प्रतिशत प्राविधिक पक्ष पूरा हुन बाँकी रहेको छ । रासस