चीन–पाकिस्तानको योजनालाई रुसको साथ, भारतलाई झट्का « Image Khabar


चीन–पाकिस्तानको योजनालाई रुसको साथ, भारतलाई झट्का


Imagekhabar
५ पुष २०७३, मंगलवार ११:१६

रुसले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीइसी) को समर्थन गरेको हो । यो करिडोरले युरेसियन आर्थिक संगठनलाई फाइदा पुग्ने भन्दै रुसले समर्थन जनाएको हो ।

सीपीइसीसँग रुसले आफ्नो युरेसियन इकोनोमिक युनियन प्रोजेक्टलाई जोड्ने बताएको छ । भारतले भने रुसको यो कदम आफ्नो लागि हानीकारक हुने ठहर गरेको छ ।

हालैमात्र रुससँग महत्वाकांक्षी रक्षा सम्झौता गरेको भारतले चीन र पाकिस्तानसँगको रुसको सम्बन्ध बढ्नुलाई आफ्नो प्रतिकुल मानेको हो । सीपीइसीले पाकिस्तान र चीनबीचको सम्बन्ध अझ बलियो हुनका साथै पाकिस्तानको आर्थिक र सामरिक शक्तिमा समेत बृद्धि हुने भारतको आंकलन छ ।

यसअघि पनि पाकिस्तान र रुसबीच सीपीइसीका बारेमा छलफल भएको समाचार प्रकाशमा आएको थियो । त्यतिबेला रुससमक्ष भारतले आपत्ति जनाएको थियो । रुसले उक्त करिडोरप्रति आफ्नो चासो नरहेको प्रतिक्रिया भारतलाई दिएको थियो ।

विज्ञहरुका अनुसार भविष्यमा सीपीइसीले पाकिस्तानको बलुचिस्तानस्थित ग्वादर र चीनको जिनजियाङ्गलाई जोड्ने छ । उक्त करिडोर पाकिस्तान अधिनस्थ कश्मिरको गिलगित–बाल्टिस्तान हुँदै गुज्रने छ, जसलाई भारतले आफ्नो भूभागका रुपमा दाबी गर्दै आएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्