पूर्वराजा ज्ञानेन्द्रले छोरीलाई दाइजोबापत दिएको घरजग्गाको मिसिल सर्वोच्चले माग्यो « Image Khabar


पूर्वराजा ज्ञानेन्द्रले छोरीलाई दाइजोबापत दिएको घरजग्गाको मिसिल सर्वोच्चले माग्यो


Imagekhabar
८ पुष २०७३, शुक्रबार ०७:१८

प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीशहरू दीपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले बिहीबार मिसिल कागजात झिकाउने आदेश गरेको हो । इजलासले सम्बन्धित मिसिल कागजात सात दिनभित्र झिकाउनुका साथै १५ दिनभित्र निर्णयार्थ पेशीमा चढाउनसमेत आदेश दिएको छ ।

‘नेपाल सरकार मन्त्रिपरिषद्को २०६४ असोज २१ को स्व. राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको परिवारको नाममा रहेको जग्गाजमीन नेपाल ट्रस्टको नाममा नामसारी गर्न भूमिसुधार तथा व्यवस्था मन्त्राललाई लेखी पठाउने भनी भएको निर्णय र २०६७ कात्तिक ८ को उक्त जग्गा नेपाल ट्रस्टको नाममा सम्पत्ति कायम गर्ने विषयको निर्णयका प्रमाणित प्रतिलिपि सात दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउनू,’ आदेशमा उल्लेख छ ।

यस्तै इजलासले तत्कालीन अधिराजकुमारी विजया राज्यलक्ष्मीको नाममा भएको २०२५ कत्तिक १८ गते पारित राजीनामा लिखत र उनको स्वर्ग भएपछि महाराजाधिराज राजदरबार नारायणहिटीको नाममा नामसारी गर्ने गरी डिल्लीबजार मालपोत कार्यालयबाट २०४९ कात्तिक २५ गते भएको २८२ नम्बरको मिसिलका प्रमाणित प्रतिलिपि झिकाउने आदेश गरेको छ ।

सर्वोच्चले तत्कालीन राजा ज्ञानेन्द्रले छोरी प्रेरणालाई दाइजोस्वरूप दिएको लिखतको मिसिलसमेत झिकाउने आदेश गरेको छ । ‘श्री ५ महाराजाधिराज सरकार नारायणहिटी राजदरबारका नाममा नामसारी गर्ने गरी २०६२ जेठ ४ मा भएको रजिष्ट्रेसन नम्बर ८७१ को मिसिल प्रमाणित प्रतिलिपि कलङ्की मालपोत कार्यालयबाट सात दिनभित्र झिकाउने,’ सर्वोच्चले उल्लिखित प्रमाण र सक्कल लिखत पेशीका दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी झिकाउनसमेत आदेश दिएको छ । –गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्