मुड ठिक छैन ? माछा खानुस्, यस्ता छन् माछा खानुका फाइदाहरु « Image Khabar


मुड ठिक छैन ? माछा खानुस्, यस्ता छन् माछा खानुका फाइदाहरु


Imagekhabar
८ पुष २०७३, शुक्रबार १०:५९

माछाः ओमेगा ३ एसिडको प्रमुख स्रोत

माछा खानु स्वास्थ्यका लागि फाइदाजनक हुनुको एउटा प्रमुख कारण माछामा पाइने ओमेगा–३ नामाकरण गरिएको बोसोयुक्त एसिड नै हो ।

ओमेगा–३ हाम्रो शरिरमा भएका सम्पूर्ण कोषहरुको झिल्लीको निर्माण र गतिविधिहरुमा सक्रिय हिस्सा रहने एउटा प्रमुख अणु हो । विशेष गरेर माछाको तेलमा पर्याप्त मात्रामा पाइने ओमेगा–३ का अणुहरुको समूहलाई ‘डिएचए’ भनिन्छ । विशेष गरेर ओमेगा–३ ले मस्तिष्क र आँखाको रेटिनाका स्नायू तन्त्रिकाहरुको निर्माण र गतिविधिहरुमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।

शरीरका कुनै पनि तन्तुहरुको निर्माण, विकास र बृद्धि हुनेमा ओमेगा–३ एसिडको अनिवार्य आवश्यकता पर्छ । आमाको गर्भमा छँदा पहिलो ३ महिनासम्म बच्चाको मस्तिष्क र आँखाका अंगहरु निर्माण र विकासमा ओमेगा–३ को अनिवार्य आवश्यकता पर्ने गर्छ । त्यसपछि पनि हामी बाँचुञ्जेलसम्म पनि यस एसिडले जीवनका प्रत्येक क्षणमा हाम्रो शरीरको विकास गर्न रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा निश्चित प्रकारका रोगहरु र संक्रमणबाट जोगाउन प्रभावकारी काम गरिरहेको हुन्छ ।

माछाको तेलमा पाइने ओमेगा–३ ले हाम्रो जीवनकालमा विभिन्न चरणहरुमा र विभिन्न समस्याहरुमा के कस्तो असर पार्छ वा भूमिका खेल्छ त ?

दम र एलर्जी

विभिन्न अध्ययनहरुले देखाएको छ कि शरीरमा ओमेगा–३ एसिडको आपूर्तिमा कम भयो भने एलर्जीका विभिन्न समस्याहरु देखापर्न थाल्छ । अस्ट्रेलियाको यूनिभर्सिटी अफ सिड्नीमा गरिएको एक अध्ययनअनुसार नियमित रुपमा माछाको तेल ओमेगा–३ एसिड खाने गरेको बच्चामा दमले समात्ने खतरा ४ गुना कम हुन्छ । अरु अध्ययनहरुले पनि के देखाएको छ भने माछाको तेल ‘सिस्टिस फिब्रोसिस’ लगाएत फोक्सोका विभिन्न रोगहरुको उपचारमा समेत उपयोगी हुन्छ । मस्तिष्कको कामसँग पनि ओमेगा–३ को सम्बन्ध हुने गर्छ । बेलायतमा बोधो दिमाग भएका, लेखपढ गर्न तथा व्यवहारका कुराहरु सिक्नमा समस्या भएका, बच्चाहरुको एक समूहमाथि अध्ययन गर्एिको थियो । उक्त अध्ययनमा ती बच्चाहरुलाई नियमित रुपमा माछाको तेल ओमेगा–३ खुवाइयो । त्यसको परिणाम निक्कै सकारात्मक देखापर्‍यो । उक्त अनुसन्धानपछि वैज्ञानिकहरु के निष्कर्षमा पुगेका छन् भने ओमेगा–३ को कमी भयो भने मस्तिष्कसम्म वा मस्तिष्कमा नै पनि सूचनाहरु राम्ररी आदानप्रदान हुन पाउँदैन, शरीरमा रासायनिक असन्तुलन पैदा हुन जान्छ, जसले गर्दा ‘डिसलेक्सिया’ जस्ता लेखपढमा समस्या हुने रोगहरुले सताउँछ । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्