२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


उड्नै लागेको विमानमा बम राखिएको हल्ला चलेपछि…


0
Shares

ट्युनिसियाको ट्युनिस–कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक ट्युुनिस एअरको विमानमा सबै यात्रीलाई चढाइसकेपछि सो विमानमा बम राखिएको भन्ने असत्य हल्ला अकस्मात् फैलिन गएको थियो ।

त्यसपछि सम्बन्धित अधिकारीले सबै यात्रीलाई उतारेर सबै यात्रीका झोला, ब्यागेजलगायत विमानको कुना–काप्चा सबैतिर जाँच–पड्ताल, निरीक्षण गर्दा बम वा अरु शंकास्पद विस्फोटक पदार्थ केही पनि फेला नपरेपछि सो विमानलाई उड्ने अनुमति दिइएको पनि गृहमन्त्रीले बताए ।

विमान सकुशल स्पेनको बार्सिलोना विमानस्थलमा अवतरण गरेको र बम राखिएको भन्ने असत्य हल्लासँग संलग्न एकजना संदिग्ध महिलालाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको पनि जनाइएको छ ।

यसैगरी, श्रीलंकाको कोलम्बो विमानस्थलमा हुने धेरै हवाई उडानका प्रस्थान, अवतरण पनि विलम्व भएका छन् ।

कोलम्बोको स्थानीय बन्दरनायिके अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने एवं बाह्य मुलुकबाट अवतरण गर्ने सबै हवाई उडान चार घन्टासम्म अवरुद्ध भइ विलम्ब भएका छन् ।

कोलम्बोमा आवत–जावत गर्ने धेरैजसो विमानले भारतीय भू–भागमाथिको आकाशमार्ग प्रयोग गर्छन् ।

सोमबार बिहान ८ः३० देखि १२ः३० सम्म भारतले दक्षिण भारतमाथिको आकाशमार्ग बन्द गर्नाले कोलम्बोका सबै अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

श्रीलंकाको राष्ट्रिय ध्वजाबाहक श्रीलंकन एअरका सिंगापुर, जाकार्ता र क्वालालम्पुरतर्फ प्रस्थान गर्ने उडानका साथै धेरै बाह्य मुलुकबाट कोलम्बो आउने उडान पनि चार घन्टाले विलम्ब भएको कोलम्बो विमानस्थल अधिकारीले जनाएका छन् ।

दक्षिण भारतमा एक विशेष परीक्षण उडान सन्चालन गर्नुपरेका कारण दक्षिण भारतको सहरमाथिको आकाशमार्ग केही समयका लागि बन्द गर्नुपर्ने बाध्यता भएको भनी भारतीय हवाई यातायात नियन्त्रण निकाय (एअर ट्राफिक कन्ट्रोल)ले सम्बन्धित श्रीलंकाली अधिकारीलाई पूर्वजानकारी दिएको पनि बताइएको छ । रासस/सिन्ह्वा