२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


फोक्सिङटारमा बेलिब्रिज जडान, दिक्तेल–गाईघाट सिधा यातायात सेवा सुरु


0
Shares

खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएसँगै मंगलबारदेखि सदरमुकाम दिक्तेलबाट गाईघाटसम्म सिधा यातायात सेवा सुरु भएको हो ।

गत मंसिर ८ गते सम्झौता गरी मंसिर ११ गतेबाट ठेक्का लिएर बेलिब्रिज निर्माणको काम थालेको सगरमाथा कन्ट्रक्सनले महिना दिनभित्र काम सकाएपछि बेलिब्रिज सन्चालनमा आएको हो ।

गाईघाट–दिक्तेल १३१ किलोमिटर लामो सडकखन्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज जडान गरिएसँगै जिल्लाबाट सिधै गाईघाट हुँदै धरान, विराटनगरलगायतका स्थानमा जाने बाटो खुलेको छ ।

गत वर्ष पुस २० गतेबाट सन्चालनमा ल्याइएको बेलिब्रिज यो वर्ष भने एक हप्ताअगाडि नै सन्चालनमा ल्याउन सफल भएको सगरमाथा कन्ट्रक्सनका प्रोपाइटर प्रेम कार्कीले बताए ।

फोक्सिङटारको बेलिब्रिज गत मंसिर २१ गतेबाट सन्चालनमा ल्याइएको दूधकोसीको जयरामघाटको बेलिब्रिजभन्दा दुई हप्तापछि सन्चालनमा आएको हो ।

४० मिटर लम्बाई, ३ लाइनको क्रसबार (बिम) र ६७ टन तौल भएको जयरामघाटको बेलिब्रिजभन्दा सुनकोसीको फोक्सिङटारमा अवस्थित बेलिब्रिज ‘ह्याब्बी’ भएका कारण निर्माणकार्य ढिला हुन गएको सगरमाथा कन्ट्रक्सनका प्रोपाइटर प्रेम कार्कीले बताए ।

प्रोपाइटर कार्कीका अनुसार फोक्सिङटारको बेलिब्रिजको ५० मिटर लम्बाई, ४ लाइनको क्रसबार (बिम) र १०८ टन तौल रहेको छ ।

यसअघि, दिक्तेलबाट राजधानीलगायतका सहर जान र आउनका लागि दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी एकमात्र बाटो प्रयोग हुँदैआएको थियो ।

हिउँदभरि सन्चालन गर्ने र वर्षामा झिक्नेगरी ७० लाखको लागतमा राखिएको बेलिब्रिज बूढीगंगापछिको दोस्रो ठूलो दाबी गरिएको छ ।

फोक्सिङटारको बेलिब्रिजले खोटाङको दक्षिणी गाविस जोड्नेगरी भोजपुरको सीमाबाट निर्माण गरिएको पानधारे–रोक्सिङभञ्ज्याङ–ईन्द्रेणीपोखरी–सिमपानी–रसुवाघाट क्षेत्रीय सडकबाटसमेत सिधै गाईघाट जाने बाटो खुलाएको छ ।