
पाँचथर, असार २३ । पाँचथरमा उत्पादित गोलभेडा भारततर्फ निर्यात हुन नसक्दा किसान मर्कामा परेका छन् ।
हिलिहाङ र याङवरकसहित विभिन्न स्थानमा उत्पादित गोलभेंडा भारतीय व्यापारीले लिन नमानेपछि किसान चिन्तित बनेका हुन् ।
पाँचथरमा उत्पादित गोलभेंडा बिर्तामोड हुँदै भारतको सिलिगुडीसँगै अन्य बजारसम्म पुग्ने गरेकामा अहिले निर्यात नहुँदा किसान समस्यामा परेका हुन् ।
विर्तामोड पुर्याएर कृषि थोक बजारमा भण्डारण गरिएको ३० टनभन्दा धेरै गोलभेंडा कुहिएको किसान समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले बताए ।
भारतीय पक्षले गोलभेंडा लिन अस्वीकार गरेपछि एक सातादेखि पाँचथरबाट झापातर्फ पनि निर्यात भएको छैन ।
यसअघि पाँचथरको हिलिहाङ र याङवरकबाट दैनिक २५ वटा गाडीमा गोलभेडा निर्यात हुने गरेको स्थानीय चन्द्रमणी बास्कोटाले बताए ।
गोलभेंडा निर्यात हुन छोडेपछि स्थानीय वजारमा पनि खपत हुन नसक्दा मूल्यमा पनि गिरावट आएको गोलभेंडा उत्पादन गरिरहेका कृषक वीरेन्द्र काफ्लेले बताए ।
जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार गतवर्ष पाँचथरको याङवरक र हिलिहाङवाट मात्रै ३ करोड रुपैयाँको गोलभेडा निर्यात भएको थियो ।
जिल्लामा १ हजार ५ सय कृषकले व्यावसायिक गोलभेंडा खेती गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्