Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


टिमुरे ८ महिनामै राजस्व संकलनको वार्षिक लक्ष्य पूरा गर्न सफल


0
Shares

रसुवा, चैत ४ । रसुवा भन्सार कार्यालय टिमुरेले चालू आर्थिक वर्षको ८ महिनामै राजस्व संकलनको वार्षिक लक्ष्य पूरा गरेको छ ।

भन्सार विभागले रसुवा भन्सार कार्यालय टिमुरेलाई आर्थिक वर्ष २०७५/७६ का लागि ७ अर्ब ६२ लाख ६४ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य दिएको थियो ।

चालू आर्थिक वर्षको ८ महिनामै ७ अर्ब २५ करोड १२ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरिसकेको भन्सार कार्यालय रसुवाका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।

असोजमामात्रै कार्यालयले दुई अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

भूकम्पपछि रसुवागढी नाकाबाट वर्सेनि सामान आयात–निर्यात हुनेक्रम बढ्दै गएको छ ।

सामान आयातमा वृद्धि भएसँगै रसुवा भन्सार कार्यालय टिमुरेको राजस्व संकलनमा पनि वृद्धि हुँदै गएको हो ।

दैनिक करोडौं राजस्व संकलन हुने रसुवा भन्सार कार्यालयमा भौतिक पूर्वाधारको अभाव छ । खोलाको छेउमा अस्थायी भन्सार यार्ड रहेको छ ।

एकैचोटि धेरै कन्टेनर आउँदा भन्सारका कर्मचारीले सडकमै उभिएर चेकजाँच गर्नुपर्ने अवस्था छ ।

यार्ड वरपर घेराबार नहुँदा सामान चोरी हुने र खुला ठाउँमा भएकाले पानी पर्दा सामान भिज्ने समस्या रहेको व्यापारीहरू बताउँछन् ।

नेपालतर्फको सडक जीर्ण भएका कारण फुट्नेखालका सामान आयात हुन सकेको छैन ।

२०७४ भदौ १४ गते चीनले यो नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ ।