प्रतीक्षा खनाल र योगेश लामा (इमेज)
काठमाडौं, चैत ३ । नेपालको कानुनले कुनैपनि व्यक्तिको ‘अप्राकृतिक मृत्यु’पछि शवको ‘पोस्टमार्टम’ गर्नुपर्ने व्यवस्था गरेको छ ।
मृत्युको कारण र समय पुष्टि गर्नुका साथै शवको पहिचान हुन नसकेको अवस्थामा पनि पोस्टमार्टम गर्ने गरिन्छ । अनुसन्धानका लागि आवश्यक प्रमाण जुटाउनका लागि पनि पोस्टमार्टमले सहयोग गर्छ ।
हत्याका घटनामा पोस्टमार्टमका लागि परिवारले सहज अनुमति दिने गरेपनि दुर्घटनाबाट भएको मृत्युमा भने परिवारले झन्झट महसुस गर्ने गर्छन् ।
नेपालमा अप्राकृतिक मृत्युपछिमात्र पोस्टमार्टम गरिन्छ । जबकि, अन्य देशहरुमा उपचारकाक्रममा हुने मृत्युपछिपनि आवश्यक देखिएमा पोस्टमार्टम गरिन्छ ।
चिकित्सकहरुकाअनुसार दुर्घटनाको स्वरुपअनुसार शवको पहिचान गर्न सहज वा कठिन हुने गर्दछ । जसमा पोस्टमार्टमले पहिचानमा सहयोग पुर्याउँछ ।
त्रिभुवन विश्वविद्यालयको फरेन्सिक डिपार्टमेन्टका पूर्वप्रमुख प्रा. डा. प्रमोदकुमार श्रेष्ठकाअनुसार शवको मिहिन अध्ययनपछि नै शवको पोस्टमार्टम रिपोर्ट तयार पारिन्छ । जसले मृत्युबारे जानकारी दिन्छ ।
दुर्घटनामा हुने मृत्युका घटनामा परिवारजनको जोड पोस्टमार्टमभन्दा अन्तिम संस्कारमा हुने गर्दछ ।
कतिपय देशहरुमा ‘मेडिकल एक्जामिनर’ले शवको अवस्थाअनुसार पोस्टमार्टम गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने चलन रहेको तर नेपालमा भने अप्राकृतिक मृत्यृपछि पोस्टमार्टम अनिवार्य रहेको श्रेष्ठ बताउँछन् ।
नेपालमा पोस्टमार्टम कहिलेबाट सुरु भयो भन्ने यकिन नभएपनि वि.सं. २०५७ सालबाट तालिमप्राप्त चिकित्सकबाट पोस्टमार्टम गर्न थालिएको हो ।
देशमा हाल ४० भन्दा धेरै तालिमप्राप्त पोस्टमार्टम गर्ने चिकित्सकहरु रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्