Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


पेटबाट निकालियो १५ सेन्टीमिटर लामो कैंची, १८ वर्षअघि डाक्टरले नै छाडेको आशंका


13
Shares

समाचार एजेन्सीहरुका अनुसार भियनतामका ५४ वर्षीय मा भान न्हाटको पेटबाट चिकित्सकले शल्यक्रिया गरी कैंची निकालेका हुन् । उनको पेटमा १८ वर्षअघि शल्यक्रियाकै क्रममा चिकित्सकले भूलवस कैंची छाडेका थिए ।

उत्तरी भियतनामको थाइ नुभेन प्रान्तका ती पुरुष हालै एउटा दुर्घटनाको शिकार भएका थिए । घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएका उनको अल्ट्रासाउन्ड गर्दा चिकित्सकले पेटमा कुनै धारिलो बस्तु रहेको पत्ता लगाएपछि शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि उनको पेटबाट १५ सेन्टीमिटर लामो कैंची निकालिएको हो । त्यसअघि पेटमा कैंची रहे पनि उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएको बताइएको छ ।

स्थानीय संचारमाध्यमका अनुसार सन् १९९८ मा पहिलोपटक उनको शल्यक्रिया भएको थियो । उक्त कैंची त्यतिबेला नै चिकित्सकले भूलवस उनको पेटमै छाडेको बताइएको छ ।

भियतनामको स्वास्थ्य मन्त्रालयले सम्बन्धित अस्पताललाई एक साताभित्र ती व्यक्तिको पेटमा कैंची कसले छोडेको हो भन्नेबारे प्रतिवेदन पेश गर्न आदेश दिएको छ । (एजेन्सी)