२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


खानेपानी चुहावट रोक्न प्रधानमन्त्रीले दिए १७ बुँदे लिखित निर्देशन


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार आयोजित बैठकमा उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई बाँकी बक्यौता तत्काल उठाउन र चुहावटलाई ४० प्रतिशतबाट २० प्रतिशतमा झार्न निर्देशन दिएको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले राससलाई जानकारी दिए ।

खानेपानी तथा सरसफाइ मन्त्रीसमेत रहेका प्रधानमन्त्री दाहालले ‘खानेपानीको मुहान र ट्यांकीको संरक्षण गर्न, उच्चपदस्थ अधिकारीलाई सित्तैमा ट्यांकरको पानी वितरण नगर्न, पानी खोल्ने र बन्द गर्ने काममा खटिएका कर्मचारीले प्रभावमा परी कतै पानी दिने र कतै नदिने समस्याको समाधानका लागि अनुगमन टोली बनाएर निरीक्षण गर्न निर्देशन दिनुभएको छ’–सचिव उपाध्यायले भने ।

पानीको पाइप बिच्छ्याउन भत्काइएको बाटो तत्काल बनाउन, सबैतिर न्यायोचित ढंगले पानी वितरण गर्न र मन्त्रालय एवं सरोकारवाला निकायलाई मुहानको निरीक्षण गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।

बैठकमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का, मन्त्रालयका सचिव उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव टंकमणि शर्मा, गृहसचिव लोकदर्शन रेग्मी, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, लिमिटेडका अध्यक्ष सुरेश बस्नेत र महाप्रबन्धक महेशप्रसाद भट्टराई, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सन्जीवविक्रम राणा र काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङको सहभागिता थियो ।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले उपत्यकामा खानेपानीको चुहावट रोक्न र व्यवस्थापन गर्न कार्ययोजना ल्याउने तयारी गरेको सचिव उपाध्यायले जानकारी दिए । रासस