Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


ठूलो परिमाणमा अवैध काठसहित दुईजना पक्राउ


0
Shares

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले झाडीमा परालले छोपेर लुकाइ–छिपाइ राखिएको अवस्थामा करिब २० लाखभन्दा बढी मूल्य बराबरको अवैध काठसहित काठ तस्करीमा संलग्न रहेको आशंकामा स्थानीय ५० वर्षीय भोला धामी र सिरहाकै गौतारी–२ निवासी ५२ वर्षीय शिवशंकर पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजना काठ चिरान गर्ने मजदुर रहेको प्रहरीको भनाइ छ । प्रहरी टोली काठ लुकाएको स्थानमा पुग्दा ठूलो परिमाणमा काठ, काठ चिरान गर्ने आरा र ती दुबैजना फेलापरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

गोप्य सूचना पाएलगत्तै काठ रहेको स्थानमा पुगेर खोजतलास गर्दा साल, साज, सिसौलगायत विभिन्न जातको करिब ८०० क्युविफिट अन्दाजी रु २० लाखभन्दा बढी मूल्य बराबरको अवैध काठ बरामद भएको प्रहरी नायब उपरीक्षक बज्राचार्यले बताए ।

सिरहा जिल्लामा सम्भवतः पहिलोपटक यति ठूलो परिमाणमा काठ बरामद भएको सेक्टर वन कार्यालय मिचैैयाका प्रमुख झरोखी साहले जानकारी दिए । रासस