३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


दुई वर्षसम्म निजामतीमा कर्मचारी भर्ना र बढुवा नहुने


0
Shares

ऐन जारी भएलगत्तै कम्तीमा दुई वर्ष कर्मचारी भर्ना र बढुवासमेतमा रोक लगाउने गरी विधेयक तयार गरिएको छ ।

तीन तहमा सेवा समूह हुने गरेर सरकारले हालको निजामती कर्मचारीलाई तीनै तहमा समायोजन गर्ने गरी ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई अन्तिम चरणमा पुर्‍याएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले उक्त विधेयक परामर्शका लागि लोकसेवा आयोगमा पठाएको छ । विधेयक पारित भएलगत्तै निजामती कर्मचारीलाई पुल दरबन्दीमा रूपान्तरण गरी समायोजनप्रक्रिया अघि बढाइनेछ ।

‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिए पनि यो ऐन प्रारम्भ भएको मितिले दुई वर्षसम्म सरकारी सेवाको रिक्त पदमा खुला वा बढुवाबाट पदपूर्ति गरिनेछैन,’ विधेयकको मस्यौदामा भनिएको छ ।

मस्यौदा विधेयकमा कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तह कुन निकायमा बस्ने भन्ने लिखित जानकारी माग गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी सोही समितिले गरेको निर्णय मान्नैपर्ने गरी समायोजन गरिने उल्लेख छ । ‘राज्यले कुनै विशेष परिस्थितिमा कर्मचारीलाई निश्चित क्षेत्रमा काम गर्न बाध्यात्मक अवस्था सिर्जना गराउन सक्छ,’ सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले भने, ‘अहिले संघीयता कार्यान्वयन गर्नुपर्ने र यस्तो परिस्थिति शताब्दीमा एकपटक आउने भएकाले पनि ऐनले निर्देश गरेअनुसार कर्मचारीलाई फोर्सफुल्ली समायोजन गर्ने गरी ऐन तयारी भएको छ ।’

सर्वेक्षण समितिले कर्मचारीको समायोजन हुने पदको कार्यविवरण, सान्दर्भिकता, ज्येष्ठता, कार्यरत रहेको स्थान, कर्मचारीको नागरिकतामा उल्लेख भएको ठेगाना र कर्मचारीले राजेको संघ, प्रदेश वा स्थानीय तहलाई आधार मानेर कर्मचारीलाई तीन निकायमध्ये कुनमा उपयुक्त हुन्छ भन्ने किटान गर्नेछ । –अन्नपूर्ण पोस्ट दैनिकबाट