
परिवार तथा संरक्षणविहीन बालबालिकालाई राष्ट्रपति भवन शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले उनीहरुसँगै माघे संक्रान्ति पर्वको खुसी साटासाट गरेकी हुन् ।
धेरैजसो उच्चपदस्थ व्यक्तिका चिल्ला गाडीसहित प्रवेश मिल्ने राष्ट्रपति भवन शीतल निवासमा शनिबारको दृश्य भने अलिक बेग्लै देखिन्थ्यो ।
शीतल निवासको कडा सुरक्षा जाँचपछि संरक्षणविहीन बालबालिका राष्ट्रपतिलाई भेट्न राष्ट्रपति भवनतर्फ लम्कँदै थिए ।
नेपाल बाल संगठनअन्तर्गत् रहेका राजधानीका विभिन्न बालगृहबाट राष्ट्रपति भवन पुर्याइएका करिब दुई सय बालबालिका राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो मान्न त्यहाँ पुगेका थिए ।
आफ्नी कान्छी छोरीको विवाहको सन्दर्भ तथा माघे संक्रान्तिको अवसरमा राष्ट्रपति भण्डारीले बालगृहमा आश्रित बालबालिकासँगै खाना खान चाहेपछि यी बालबालिकालाई शीतल निवासको गेट उघ्रेको हो ।
राष्ट्रपतिलाई भेट्न उत्साही यी बालबालिकाको केहीबेरको प्रतिक्षापछि राष्ट्रपति भण्डारी आइपुगिन् र सुरु भयो भलाकुसारी ।
आफ्ना अभिभावक गुमाएका वा अभिभावकबाट बिछोडिएका साना नानीहरुले राष्ट्रको अभिभावकसमक्ष राष्ट्रिय भावनाले ओतप्रोत भएको गीतमा नृत्य प्रस्तुत् गर्दा त्यहाँ उपस्थित सबै भावुक बनेका थिए ।
त्यतिमात्रै होइन, आमाबाबुको ममता गुमाएर आश्रमलाई नै घर बनाउन विवश बालबालिकाले आफ्नो छातिमा राखेको मायालाई गीतमार्फत् त्यहाँ उपस्थित सबैको ध्यान खिचे । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्