२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


त्रिचालीस वर्षदेखि खराउकै भर, नाम नै रहयो ‘खराउ सर’


0
Shares

बाहुनीको जनता उच्च माविमा ३२ वर्ष लेखापालको जागिर गरेर सेवा निवृत्त हुनुभएका चौधरीलाई पैसाको अभाव हुने कुरै भएन, तर पनि ६६ वर्षीय चौधरीका खुट्टामा खराउ देख्दा जो कोही एक छिन टक्क उभिएर हेर्ने गर्छन् ।

लीला सरको खुट्टामा खराउ परेको ४३ वर्ष भयो । किन खराउ लगाउनुभयो ? भन्ने जिज्ञासामा उनले भने–“२२ वर्षको उमेरमा दाहिनेपट्टि हर्निया निस्कियो । २०३० सालमा नेपालमा उपचार गर्न सम्भव नै थिएन ।

भारतसम्म पुग्ने आर्थिक हैषियत भएन । त्यसैबेला एकजना साधुले उनलाई खराउ लगाउन सुझाव दिए । उति बेला खाली खुट्टा नै हिँड्ने समय थियो । गाउँमा इने गिनेले मात्र खुट्टामा जुत्ता चप्पल लगाउँथे ।”

साधुले भनेअनुसार लीलाले गाउँको सिकर्मीलाई खराउ बनाउन लगाए । सिमलको रुखको काठ खोपेर खुट्टाको बूढी र माइली औँलाले च्याप्ने गरी टुसो निकालेर खराउ बनाउन लगाए । सुरुमा अप्ठ्यारो भयो ।

तर, हर्नियाका बिरामी लीलालाई हर्नियाबाट मुक्त हुनु थियो । त्यसैले उनले दैनिक औँलाको बीचबाट रगत चुहाउँदै पनि १९ महिना खराउ लगाए । १९ महिनामा हर्निया आफैँ हरायो । त्यसयता लीलालाई हर्नियाले दुःख दिएको छैन ।

उनी भन्छन्–“मलाई खराउ सञ्जीवनी बुटी जस्तै भयो ।” उनले खराउ लगाउन छोड्नुभएको छैन । अचेल धेरैले उनलाई अब त के खराउ लगाउँछौँ भनेर नलगाउन सुझाव दिन्छन् । तर लीला नातागोता र इष्टमित्रका कुरामा लागेका छैनन् ।

युग जतिसुकै आधुनिक भए पनि पूर्वीय शास्त्रमा सबै रोगको उपचार गर्ने पद्दति भएको उनको भनाइ छ । उनी भन्छन्–“अहिले खराउ बनाइदिने सिकर्मी पाइँदैनन्, त्यसैले आफैं बनाएर लगाउँछु ।

अब त उनको नाम नै खराउ सर भइसकेको छ । सबैले लीलाभन्दा पनि खराउ सर भनेर चिन्छन् ।” उनले थपे–‘जे भने पनि म सन्तुष्ट छु, त्रेता युगको चप्पल अझै जोगाएको छु । मेरो फाइदाका लागि हो ।’ रासस