विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता : प्रधानमन्त्री « Image Khabar


विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता : प्रधानमन्त्री


Imagekhabar
२ माघ २०७३, आईतवार १४:५६

१० औं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन युएई पुगेका प्रधानमन्त्री दाहालले आवुधावीमा रहेको नेपाली दुताबासमा नेपालीहरुसँग अन्तरक्रिया गरेका हुन् ।

नेपालीहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले भने, ‘राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड गरेको छ । मेरो नेतृत्वको सरकारले विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता दिएको छ ।’

उनले नेपाली समुदायलाई सम्बोधन गर्दै भने, ‘तपाईहरुले यहाँ हासिल गरेको अनुभव र पूँजी नेपालको विकासको लागि आधारशिला हो, पूँजी हो, तपाईहरुले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत छ ।’

नेपालको राजनीतिबारे बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं, सबैका भावना छन्, राष्ट्रिय एकता हासिल गर्नुछ, कसैलाई पेलेर वा ठेलेर समस्याको हल हुँदैन । सरकार सबैसँग समान रुपले सम्वादमा छ । सम्वाद सकारात्मक दिशामा छ, राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गर्नेमा सरकार छ ।’

उर्जा सम्मेलनबारे बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘उर्जा सम्मेलन हाम्रालागि धेरै महत्वको छ । जलविद्युतको प्रचुर सम्भावना भएर पनि हामीले सदुपयोग गर्न सकेका छैनौं । अहिले हाम्रो ध्यान यसमा छ । हामीले वैदेशिक रोजगारीबाट आएको पूँजीलाई विकास आयोजनामा केन्द्रित गर्न खोजेका छौं । म विकासका कामलाई केन्द्रमा राखेर विकासका आयोजनाहरुको अनुगमन गरिरहेको छु ।’

उनले राजनीतिक विवादमा अल्झिएर विकासलाई उपेक्षा गरिएको स्वीकार गर्दै भने, ‘अब त्यसो गर्नु हुँदैन । ईच्छाशक्तिका साथ नेतृत्वले देशको विकास लागि केही गर्नैपर्छ ।’

ब्लड मनी, पासपोर्टको नवीकरण शुल्क घटाउने लगायतका केही महत्वपूर्ण काम गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने, ‘हामीले केही गर्न खोजेका छौं । यस्तो अवस्थामा सबैको साथ जरुरी छ । तपाईहरुको साथ पाएको छु, विकास र पूर्वाधार निर्माणमा तपाईहरुको थप सहयोग र सद्भावको अपेक्षा गरेको छु ।’

भेटमा उर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, शिष्टाचार महापाल दीपक अधिकारी लगायत सहभागी थिए । भेटका अवसरमा सहभागीहरुले वैदेशिक रोजगारीका क्रममा आफूले भोग्नुपरेका समस्या र अवस्थाबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्