२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


ट्रम्पको शपथ समारोहलाई ५० जना सिनेटरले बहिष्कार गर्ने


0
Shares

५० जना सिनेटरले आउँदो शुक्रबार हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको औपचारिक सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने प्रष्ट गरेका हुन् ।

यसरी बहिष्कारको घोषणा गर्ने डेमोक्रेट सिनेटर हुन् । दुई दिनअघि अमेरिकी नागरिक आन्दोलनका अगुवा, डेमोक्रेटिक पार्टीका सदस्य जोन लुइसले ट्रम्प वैधानिक राष्ट्रपति नभएको धारणा व्यक्त गरेकामा ट्रम्पले लुईसको चर्को आलोचना गर्दै डेमोक्रेटिक पार्टीमाथि नै तथानाम गाली गरेपछि सिनेटरहरु ट्रम्पको शपथ समारोहमा बहिष्कार गर्ने निर्णयमा पुगेका हुन् ।

गत नोभेम्बर ८ मा भएको राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनलाई हराउँदै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

ट्रम्पलाई ५३८ मध्ये ३ सय ४ इलेक्टोरल भोट प्राप्त भएको छ भने हिलारीको पक्षमा २२७ इलेक्टोरल भोट मात्रै आएको थियो ।

तर पपुलर भोटमा भने ट्रम्पले भन्दा हिलारीले करिब ३० लाख बढी मत पाएकी थिइन् । सिनेटरहरुले सपथ समारोह बहिष्कारको निर्णय गरेपनि हिलारी भने उपस्थित हुनेछिन् ।

ट्रम्पका कट्टर आलोचक पूर्व राष्ट्रपति जर्ज डब्लु बुस, बिल क्लिन्टन पनि समारोहमा सहभागी हुने बताइएको छ ।

राष्ट्रपति निर्वाचनको प्रचारदेखि नै विवादास्पद अभिव्यक्ति दिँदै आउनु भएका ट्रम्प राष्ट्रपतिमा विजयी भइसकेपछि पनि उनीविरुद्ध अमेरिकाभर हजारौंले प्रदर्शन गरेका थिए । (एजेन्सी)