राजधानीबाट ४५ मिनेटमै हेटौंडा पुग्ने बाटो लगानी जुटाउन नसक्दा अलपत्र « Image Khabar


राजधानीबाट ४५ मिनेटमै हेटौंडा पुग्ने बाटो लगानी जुटाउन नसक्दा अलपत्र


Imagekhabar
७ माघ २०७३, शुक्रबार ०६:३३

नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मा लिएको छ । सन् २०१२ मा सरकारसँग भएको सम्झौताअनुसार कम्पनीले १ जनवरी ०१७ मै सुरुङमार्ग निर्माण सम्पन्न गर्नुपर्ने थियो । कम्पनीले पाँच वर्षमा सुरुङमार्ग सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । तर, यस अवधिमा कम्पनीले लगानीसमेत जुटाउन सकेको छैन ।

कम्पनीसँगको सम्झौता अवधि सकिएपछि सुरुङमार्ग निर्माणको जिम्मा उसैलाई दिने कि नदिने भन्ने अन्योलमा सरकार रहेको भौतिक, योजना तथा यातायात व्यवस्था मन्त्रालयका निर्माण महाशाखा प्रमुख माधव कार्कीले बताए ।

उनले भने, ‘सुरुङमार्ग निर्माणको म्याद सकियो, तर कामको प्रगति शून्य छ ।’ म्याद थप गरिए पनि कुन मोडालिटी अपनाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

पूर्वाधार निर्माण तथा सञ्चालनमा निजी लगानीसम्बन्धी ऐन, २०६३ अन्तर्गत जनसमुदाय, सार्वजनिक–निजी साझेदारी मोडेलमा बनाउने भनिएको सुरुङमार्गको सम्पूर्ण लगानी निर्माण कम्पनीले नै व्यवस्थापन गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

लगानी व्यवस्थापन भएपछि त्यसको स्वीकृति भने सरकारको भौतिक, योजना तथा यातायात व्यवस्था मन्त्रालयले दिनुपर्छ । निर्माण कम्पनीका अध्यक्ष लालकृष्ण केसीले सुरुङमार्ग निर्माणमा खासै प्रगति नभएको बताए । उनले भने, ‘सुरुङमार्ग निर्माण सम्झौताको अवधि सकियो । म्याद थपका लागि पहल भएको छ ।’ कम्पनी निरन्तर लगानी व्यवस्थापनको प्रयासमा रहेको उनले बताए ।

‘अबको केही दिनभित्रै कम्पनीको बैठक बस्नेछ । त्यसले केही महत्वपूर्ण निर्णय गर्नेछ । यसको प्रगति सम्बन्धमा अहिले नै भन्ने वेला भएको छैन,’ उनले भने ।

४५ मिनेटमा हेटौँडा पुगिने

५८ किमि लम्बाइको सुरुङमार्ग बनेमा काठमाडौंबाट ४५ मिनेटमै हेटौँडा पुगिनेछ । ठूला तथा सार्वजनिक बसलाई भने त्यो दूरी पार गर्न बढीमा ६० मिनेट लाग्नेछ । काठमाडौंबाट हेटौँडा पुग्न अहिले काठमाडौं–नारायणगढ– हेटौँडा सडकखण्डको दुई सय २७ किमि यात्रा तय गर्नुपर्छ । यसका लागि सातदेखि आठ घन्टा खर्च हुन्छ । वैकल्पिक मार्ग भनिएको त्रिभुवन राजमार्गको एक सय ३३ किमि सडक पार गर्न पनि सातदेखि आठ घन्टा नै लाग्छ ।

३० वर्षपछि सरकारको स्वामित्वमा

सम्झौताअनुसार निर्माण भएको ३० वर्षपछि सुरुङमार्ग चालू अवस्थामा नेपाल सरकारमा हस्तान्तरण हुनेछ । सम्झौताअनुसार निर्माण अवधि पाँच वर्षको हुनेछ । त्यसबाहेक २५ वर्ष भने निर्माण कम्पनीले आयोजना सञ्चालन गर्नेछ । त्यसबाट आउने आम्दानी कम्पनीको नै हुनेछ । यस अवधिमा हुने मर्मतसम्भारको खर्च निर्माण कम्पनीले नै गर्नेछ ।

सुरुङमार्ग निर्माणका लागि करिब एक हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ । अधिग्रहण कार्य चारदेखि पाँच महिनामा सकिनेछ । जग्गाको मुआब्जाबापत करिब डेढ अर्ब रुपैयाँ खर्च हुनेछ ।

यस्तो छ लगानी मोडेल
सुरुङमार्गको कुल लागत रकम ३४ अर्ब ८७ करोड रुपैयाँ छ । त्यसमध्येमा २० प्रतिशत स्वपुँजी (इक्विटी) र ८० प्रतिशत ऋण लगानी हुनेछ । त्यसअनुसार सात अर्ब रुपैयाँ इक्विटी र २७ अर्ब ९० करोड ऋण लगानी हुनेछ । आयोजनामा ६० प्रतिशत प्रवद्र्धकको लगानी हुनेछ भने ४० प्रतिशत सार्वजनिक आह्वानमार्फत सर्वसाधारणबाट सेयर रकम जुटाइने कम्पनीले जनाएको छ । –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्