ब्राजिलमा २४ घन्टामै ५५ हजार नयाँ संक्रमित, अमेरिकामा संक्रमितको संख्या २२ लाख नाघ्यो « Image Khabar


ब्राजिलमा २४ घन्टामै ५५ हजार नयाँ संक्रमित, अमेरिकामा संक्रमितको संख्या २२ लाख नाघ्यो


Imagekhabar
६ असार २०७७, शनिबार १२:४३

काठमाडौं । ब्राजिलमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा मात्र त्यहाँ ५५ हजार नयाँ संक्रमित थपिएका छन् ।

योसँगै ब्राजिलमा कोरोनाबाट प्रभावित हुनेको संख्या १० लाख ३८ हजार नाघेको छ । त्यस्तै, ब्राजिलमा कोरोनाकै कारण अहिलेसम्म ४९ हजार ९० जनाको मृत्यु भइसकेको छ ।

गत २४ घण्टामा १ हजार २ सय १२ जनाको मृत्यु भएको छ । हालसम्म ब्राजिलमा ५ लाख २० हजार संक्रमित कोरोना जितेर घर फर्किएका छन् ।

ब्राजिलमा अहिले ४ लाख ६९ हजार संक्रमितको उपचार जारी छ । जसमध्ये ८ हजार ३ सय संक्रमितको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै, कोरोनबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या २२ लाख ९७ हजार नाघेको छ । बितेको २४ घण्टामा त्यहाँ साढे ३३ हजार नयाँ संक्रमित थपिँदा ७ सय १९ जनाको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २१ हजार ४ सय पुगेको छ । त्यहाँ हालसम्म ९ लाख ५६ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

२ सय १५ देशमा फैलिसकेको कोरोनाबाट शनिबार बिहानसम्म ८७ लाख ५७ हजार ७ सय व्यक्ति संक्रमित भएका छन् । जसमध्ये ४६ लाख २५ हजार निको हुँदा ४ लाख ६२ हजार ५ सय संक्रमितले ज्यान गुमाएका छन् ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्